सोमबार १५ जेठ २०८०

काठमाडौं / मलेसियामा नेपालीसहित अन्य विदेशी श्रमिकको न्यूनतम पारिश्रमिक २५ प्रतिशतले वृद्धि भएको छ । सरकारले यसअघिको १ हजार २ सय रिंगेटबाट बढाएर श्रमिकको पारिश्रमिक १ हजार ५ सय बनाएको हो ।

मलेसियास्थित नेपाली दूतावासले नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएर १ हजार ५०० रिंगेट भएको जनाउँदै अबदेखि सोहीअनुसार नयाँ श्रमिकको मागपत्र प्रमाणीकरण गरिने जनाएको छ ।

दूतावासले मलेसिया जाने नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ५ सय रिंगेट अर्थात् करिब ४२ हजार रुपैयाँ नभए मागपत्र प्रमाणित नगर्ने जनाउँदै न्यूनतम पारिश्रमिकको सीमा निर्धारण गरेको हो ।

दूतावासले हालै सूचना जारी गर्दै मे महिनाबाट लागू हुने गरी नेपाली श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको हो । अब मलेसिया जाने नेपाली श्रमिकले कम्तीमा पनि ४२ हजार रुपैयाँ पाउने गरी मात्र रोजगारदातासँग करार सम्झौता गर्नु पर्नेछ ।

यसअघि नेपालबाट गएर मलेसियामा काम गर्ने साधारण श्रमिकहरुको न्यूनतम पारिश्रमिक १ हजार २०० रिंगेट मात्र रहँदै आएको थियो । कारोबार दैनिकमा यो खबर छापिएको छ ।

२२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया