सोमबार ०९ जेठ २०७९

काठमाडौं / प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्म दिने आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइन्छ । देशभर शनिबार आमालाई मीठामीठा खानेकुरा दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ ।

छोराछोरीले बिहानै उठी नुहाएर आमालाई राम्राराम्रा लुगा लगाउन दिने र मीठामीठा र तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादान दिन्छन् । यसरी भोजन गराई दिवंगत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन् ।

सनातन वैदिक शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । ‘वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन्’, धर्मशास्त्रविद् एवं नेपाल पञ्चांग निर्णायक समितिका पूर्वअध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम बताउँछन् । सन्तानलाई नौ महिनासम्म ग’र्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ।

बुवाभन्दा आमाको महत्त्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि डा. गौतमले जानकारी दिए। यस्तो महत्त्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ।

दिवंगत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ। वैशाख कृष्ण औंसीका दिन दिवंगत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादानसहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको उनले बताए ।

यस अवसरमा आजकै दिन चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा हरेक वर्ष मेला लाग्ने गर्छ । विगत दुई वर्ष को’रोना भा’ई’र’स फैलिएकाले मातातीर्थमा मेला स्थगित थियो । यस वर्ष भने मेला लाग्ने नगरपालिकाले जनाएको छ । रासस

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया