बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले) मा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरूको जिम्मेवारी खोसेको हो।

सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए। त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ। बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ। बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ।

आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई समेत थाहा नदिइ एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट महत्वपूर्ण निर्णय पछि माधव नेपाल समुहका नेताहरुले असन्तुष्टि पोखेका छन्।

एमालेको विधानमा केन्द्रीय कमिटिमा सदस्य थप्न नपाइने भए पनि ओलीले बाधा अड्काउ फुकाउ निर्णय गर्दै उक्त प्रावधानलाई निलम्बन गरेर माओवादीबाट आएका नेताहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको हो।

पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई थाहै नदिइ राखिएको बैठकले पार्टीको दसैँ महाधिवशेन २०७८ साल मंसिर २ गतेदेखि ८ गतेसम्म गर्ने निर्णय गरेको केन्द्रीय सदस्य एवं प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

यो निर्णयपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेता रघुजी पन्तले शुक्रबार पार्टीको केन्द्रीय कमिटी बैठक बोलाएकोबारे आफूहरूलाई जानकारी नै नभएको बताएका छन्।

बैठकले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी भंग गर्दै आउँदो मंसिरका लागि महाधिवेशन मिति तोकेको छ। तर, यस विषयमा माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले जानकारी नभएको प्रतिक्रिया दिएको छ।

‘केन्द्रीय कमिटी बैठक भएको भए हामीलाई जानकारी हुनुपर्ने हो, केही थाहै छैन। सबै घटनाक्रम बुझेर मात्रै कमेन्ट गर्दा राम्रो होला’ पन्तले भने।

यस्तै सेतो पाटीका अनुसार शुक्रबार बैठकबारे आफूहरूलाई कुनै जानकारी नै नभएको नेपाल पक्षका नेता तथा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले बताए। ‘उहाँहरूले के को बैठक गर्नुभएको हो। हामीलाई जानकारी दिइएको थिएन,’ ज्ञवालीले भने,‘के-के निर्णय गर्नुभयो रे भन्ने मिडियाबाट सुनेको छु। साथीहरूसँग सल्लाह नगरी अहिले केही भन्न सक्ने अवस्थामा छैन।’ बालुवाटारको बैठकले कर्णाली प्रदेशका इन्चार्ज रहेका ज्ञवालीको पनि जिम्मेवारी खोसेको छ।

माधव नेपाल पक्षका नेता अमृतकुमार बोहोराले एमालेको केन्द्रीय कमिटी विस्तारलगायतका निर्णयप्रति आपत्ति जनाएका छन् । ओलीले चालेको यो कदमलाई घोर षडयन्त्र भन्दै त्यसको सशक्त प्रतिकार गरिने उनले बताए ।

नेपाल प्रेसका अनुसार नेता बोहोराले भने, ‘पार्टी मिलाउनु त कता हो कता, ओलीले निहुँ खोज्ने काम गरे । हामी त्यसको साम’नासँगै प्रति’कार गर्छौं ।’ सर्वोच्च अदालतको फैसलापछि एमाले एक हुने सम्भावना हुँदाहुँदै अध्यक्ष ओली पेलेरै अघि बढ्न खोजेको उनको आरोप छ ।

‘ओलीले हामीलाई सिध्याउनै खोजेका छन्, तर त्यस्तो हुँदैन । हामी सल्लाह गरेर अघि बढ्छौं,’ बोहोराले भने । एमालेको ओली पक्षले माधव नेपाल पक्षलाई बाइपास गर्दै केन्द्रीय कमिटी विस्तारसँगै तथा विभिन्न कमिटी पुनर्गठन गरेको छ ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

ओलीको भनाइ उदृत गर्दै ती सदस्यले भने, ‘खबर गर्न छुट्नुभएकाहरुलाई अर्को बैठकमा खबर गर्नू । माधवजीहरुलाई खबर पुगेको रहनेछ भने पनि पुर्‍याइदिनू । आउनु हुन्छ कि आउनुहुन्न तर पनि खबर चाहिँ गर्नुपर्छ ।’

५०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया