बुधबार २४ जेठ २०८०

काठमाडौँ / तपाईँ नयाँ चालक अनुमति पत्र (लाइसेन्स) लिने चाहनामा हुनुहुन्छ ? बायोमेट्रिक दर्ता, लिखित परीक्षा तथा प्रयोगात्मक परीक्षा ‘ट्रायल’ दिन विसं २०८१ सम्म ‘प्याक’ भइसक्यो , अनलाइन फाराम भर्न ‘सिस्टम पनि क्लोज’ छ भन्ने ‘टेन्सन’ मा हुनुहुन्छ । दि’क्क नमान्नुहोस् । यही वैशाख २५ सम्म पर्खनुहोला ।

बागमती प्रदेश, मुख्यमन्त्रीको कार्यालय, प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय तथा मन्त्रालय मातहतको यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था गर्ने गरी आवेदन प्रणाली खुला गर्ने तयारी गर्दै छ । यसबाट सेवाग्राहीले विचौलिया बिना सेवा पाउने छन् ।

सवारी चालक अनुमतिपत्र कार्यालय ठूलो भर्याङका निमित्त प्रमुख सञ्जय थापाले भने, “नयाँ लाइसेन्सका लगि सेवाग्राहीले अनलाइन फाराम समावेशको सुनिश्चित भएको भोलिपल्ट बायोमेट्रिक दर्ता, पर्सिपल्ट लिखित परीक्षा तथा यसपछि ‘ट्रायल’ दिने चुुस्त प्रणालीको व्यवस्था कसरी मिलाउन सकिन्छ भन्ने गृहकार्यमा छौँ । अब खुला हुने अनलाइनमा यस्तो प्रणाली विकास हुन्छ ।”

कार्यालयले लाइसेन्स वितरण, नविकरण यसका लागि बायोमेट्रिक दर्ता, लिखित परीक्षा, ट्रायलको प्रवन्ध तथा राजस्व सङ्कलनलगायतका सेवा प्रदान गर्दै आइरहेको छ । सो कार्यालयले विसं २०७८ फागुन महिनासम्म लाइसेन्सका लागि अनलाइन फाराम भरेका विसं २०८१ असारसम्म ‘अफिस भिजिट डेट’निर्धारण गरेका सबै सेवाग्राहीका काम यही वैशाख २५ गतेभित्र सम्पन्न गर्दैछ ।

“हामी तीनवर्षका लागि निर्धारण गरेका काम यही वैशाख २५ भित्र सक्ने लक्ष्यका साथ सेवाग्राहीको सेवामा अहोरात्र जुटिरहेका छौँ । यसका लागि बिहान ७ः३० देखि पाँचबजेसम्म सेवा प्रदान गरिरहेका छाैं। विचौलिया बिनाको सेवा नै हाम्रो ध्येय हो” उनले भने । अहिले देशभर करिब साढे सात लाख सेवाग्राही नयाँ लाइसेन्स अनुमतिका पर्खाइमा रहेको अनुमान छ।

आइतबार मात्र वाग्मती प्रदेश मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग निमित्त प्रमुख थापाले भेट गरेका थिए । श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले यातायात क्षेत्रको सुधारका लागि उच्च प्राथमिता दिनुभएको छ । यसक्रममा उहाँले यातायात कार्यालयका सेवालाई छिटो, छरितो र चुस्त बनाउन विभिन्न नीतिगत सुधारको थालनी गर्नुभएको मन्त्रालयले जनाएको छ ।

विचौलिया विनाको सेवा प्रवाह हुने :

कार्यालयले सेवा प्रवाहलाई चुस्त बनाउ सेवा प्रवाह तालिका कार्यान्वयनमा ल्याएको छ । कार्यालयको आगनमा नै सबै सेवाग्राहीले देख्ने गरी कुन कोठामा के काम हुन्छ, त्यो काम कुन कर्मचारीको जिम्मेवारीभित्र पर्छ भन्ने जानकारीको सूचना पाटीे छ । निमित्त प्रमुख थापाले भने, “सेवा प्रावह तालिका कार्यान्वयनमा आएपछि सेवाग्राहीले विचौलियका हात समात्न परेको छैन ।

सेवाग्राहीले कोठामा रहेका कर्मचारीबाट सहज सेवा पाइरहेका छन् । यसका लागि मैले कर्मचारी साथीलाई सेवाग्राही मैत्री बन्न विशेष आग्रह तथा निर्देश गरेको छु । सेवाग्राहीका हरेक गुनासो म आफैले सम्बोधन गर्दै आइरहेको छु । मलाई भेट्न सेवाग्राहीलाई कुनै समस्या छैन । सेवाग्राही मलाई भेट्न होइन,म उहाँहरुलाई भेट्दै काम गरिदिन्छु । कार्यालय विचौलियामुक्त बनाएको छु ।”

सो कार्यालयले अहिले औसतमा दैनिक ६०० सेवाग्राहीलाई आवश्यक सेवा प्रवाह गरिराखेको छ । कार्यालयले चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित ‘भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर’बाट ट्रायल परीक्षा सञ्चालन गरिराखेको छ । ३२ रोपनी जमिनमा फैलिएको नेपालको सबैभन्दा ठूलो, अत्याधुनिक तथा सुविधा सम्पन्न सो भेहिकल एकेडेमीको क्षमता दुई हजारभन्दा बढी रहेको जनाइएको छ । कार्यालयले यातायातका सबै साधनको प्रयोगात्मक परीक्षाका लागि सो भेहिकल एकेडेमीलाई ‘ट्रायल सेन्टर’का रूपमा स्वीकृत दिएको छ ।

कार्यालय प्रमुख थापाले भने “भेहिकल एकेडेमीमा सबै प्रकारका यातायातका लाइसेन्सको प्रयोगात्मक परीक्षाका लागि पूर्वाधार तथा प्रशिक्षणका लागि सुविधा छ । कार्यालयले एकेडेमीबाट नै लाइसेन्सका लागि प्रयोगात्मक परीक्षा सञ्चालन गर्दै आएको छ ।” एकेडेमीको क्षमता दैनिक दुई हजारभन्दा बढीको ‘ट्रायल’ परीक्षा सञ्चालन गर्नसक्ने तर ‘ट्रायलको कोटा’ निर्धारण गरिएका कारण क्षमता उपयोग गर्न नपाइरहेको जनाइएको छ ।

कार्यालयले लाइसेन्सको लिखित परीक्षा हुने हललाई अत्यन्त व्यवस्थित बनाएको छ । उनले भने “ लाइसेन्स नवीकरणका लागि सेवाग्राहीले घरमा बसेर नै टोकन लिने व्यवस्था छ । सबै कोठामा सिसीटिभी जडान गरिएका छन् । यसलाई मैले ‘मनिटर’ गरिहेको हुन्छ । म यातायात क्षेत्रमा सेवाग्राहीले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्न चाहन्छु ।

यस्तो पो होस् भन्ने सेवा भन्ने बनाउने प्रयत्नमा छु ।” उनका अनुसार यातायात व्यवस्था विभागले लाइसेन्स परीक्षासम्बन्धी केही नीतिगत परिवर्तनसमेत गर्न लागेको छ । लिखित परीक्षा उत्तीर्ण भएपछि तीन पटकसम्म ट्रायल दिन पाउने प्रावधानलाई संशोधन गरी ‘ट्रायल’ पास नभएसम्म दिन पाउने व्यवस्था गर्न लागिएको जनाइएको छ ।

२६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया