शुक्रबार १९ जेठ २०८०

ताप्लेजुङ / चीनसँगको सिमाना जोडिएको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङ्चुङगोलामा उम्मेदवारहरुले सर्वसम्मत रुपमा उम्मेदवारी दिएका छन् । वडाअध्यक्ष र चार जना सदस्यका उम्मेदवारले मात्र सोमबार गाउँपालिका केन्द्र तापेथोकमा आएर उम्मेदवारी दर्ता गराएका हुन् ।

गाउँको भेलाबाट छेतेन वालुङ अध्यक्षको उम्मेदवार बने भने टासी शेर्पा, वाङग्या शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्वाहाम्फे विकलाई वडा समितिको उम्मेदवारमा चयन गरेको छ ।

सदस्यमा मनोनयन दर्ता गराएका टाँसीका अनुसार वडाबाट निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराउन जम्मा सात जना मात्रै आएका छन् । उम्मेदवार पाँच जना र दुई जना प्रस्तावक र समर्थक मात्रै आएको टासीले बताए ।

निर्वाचन अधिकृत राजकुमार दाहालले अहिलेसम्म स्वतन्त्ररुपमा आएका उम्मेदवारबाहेक कसैले उम्मेदवारी दर्ता गराएका छैनन् । यद्यपी अहिले नै घोषणा गर्न नमिल्ने निर्वाचन अधिकृत दाहालले बताए । २०७४ को स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका छेतेन शेर्पा भोटेले १ मतले वडाअध्यक्ष जितेका थिए ।

पराजित भएका एमालेका छेतेन वालुङलाई गाउँलेले यसपल्ट निर्विरोध उम्मेदवार बनाएका हुन् । पूर्ववडाअध्यक्ष भोटेका अनुसार गोला र याङ्मा बस्तीका बासिन्दाबीच छलफल गरेर स्वतन्त्र उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको हो । दुई वटा बस्ती रहेको यस वडामा ३ सय ३६ मतदाता रहेका छन् । गोलाको बस्तीमा २ सय ७६ र याङमामा ६० जना मतदाता छन् ।

१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया