
काठमाडौं/ नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । समर्थन फिर्ता लिएसँगै आफ्नो पार्टीबाट मन्त्री भएका नेताहरुलाई राजिनामा गराएर फिर्ता बोलाउने विषयमा कानूनी लगायत प्रक्रिया मिलाउन प्रमुख सचेतक देव गुरुङ र वर्षामान पुनलाई जिम्मा दिइएको छ ।
स्थायी समिति सदस्य गणेश साहका अनुसार उनीहरुले यस विषयमा केन्द्रीय कमिटीमा राय दिनेछन् । १ गते बस्ने केन्द्रीय समिति वैठकले यस विषयमा निर्णय लिने उनले जानकारी दिए ।
पार्टीको निर्देशनपछि राजीनामा नदिने मन्त्रीलाई कारवाही गर्ने तयारी माओवादी केन्द्रले गरेको छ । ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने ५ जना मन्त्री छन् । सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्यूँतिए पनि उनीहरु एमालेमै बस्ने भएपछि माओवादीले कारवाहीको तयारी गरेको हो ।
गृहमन्त्री रामबहादुर थापा बादल, उर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, सहरी विकास मन्त्री प्रभु साह र खानेपानी मन्त्री मणी थापा अहिले सरकारमा छन् । उनीहरुले आफ्नो पद गए पनि ओलीको साथ नछोड्ने बताइरहेका छन्।