मंगलबार २३ जेठ २०८०

काठमाडौं / राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग तालमेलको प्रयास भइरहेको बताएका छन् । एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने राप्रपा नेपालका उम्मेदवारहरुले पनि सूर्य चुनाव चिन्ह लिएर ल’ड्ने थापाले बताए ।

पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा थापाले भने, एमालेसँगको सहकार्यलाई उच्च प्राथमिकता दिने नीति लिएका छौं । एमालेका केन्द्रीय तहका नेताहरुसँग छिट्टै दुईपक्षीय कुरा गरेर निष्कर्षमा पुर्‍याउने छौं ।’

अध्यक्ष थापाले भने, ‘राप्रपा नेपालले स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलसँग सहकार्य र तालमेल गर्ने नीति लिएको छ। नेकपा एमालेसँगको सहकार्यलाई हामीले उच्च प्राथमिकता दिने नीति लिएका छौँ। सम्भव भए आगामी चुनावमा नेकपा एमालेकै चुनाव चिह्न सूर्य लिएर उठ्न सक्ने सम्भावनाबारे समेत म जानकारी गराउन चाहन्छु। यो निर्णय होइन, पार्टीको धारणा हो।’

उनले स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेसँग सहकार्य गर्ने कुरा प्रारम्भिक चरणमा सम्पन्न भएको पनि बताए । अध्यक्ष थापाले आफ्नो पार्टीका स्थानीय तहमा उठ्ने नेता तथा कार्यकर्ताहरूले नेकपा एमलेसँग मिलेर सहकार्य र तालमेल गरेर अघि बढ्न पनि आग्रह गरे । उनले नेकपा एमालेसँग स्थानीय तहको निर्वाचनमा तालमेल हुँदा एमालेकै चुनाव चिन्ह लिएर उठ्ने धारणा पार्टीको भएको बताए ।

अध्यक्ष थापाले नेपाललाई हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति हुनुपर्ने बताए । उनले हिन्दुराष्ट्र कायम गर्ने बारेमा राष्ट्रिय सहमति नभएमा धर्म निरपेक्षता राख्ने वा हिन्दुराष्ट्र कायम गर्ने भन्ने बारेमा जनताको प्रत्यक्ष अभिमत बुझ्न आगामी संसदीय चुनाव सँगसँगै राष्ट्रिय जनमत संग्रह गर्न पनि माग गरे ।

६५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया