आइतबार २१ जेठ २०८०

काठमाडौं, ११ चैत्र / यतिबेला दुई ठूलो कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रभावशाली नेताहरु चीनमा छन् । एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादी नेता वर्षमान पुन चीनमा छन् ।

उनीहरु दुवै एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डलाई मिलाउनुपर्ने पक्षका हुन् । नेकपा हुँदा यी दुवै नेता पार्टी एक बनाउन अन्तिम समयसम्म लागे तर सकेनन् । अझैपनि कम्युनिस्ट एकताको पक्षमा छन् । दुवै नेता चीन पुग्नु अर्थपूर्ण छ ।

विष्णु पौडेलको टोली टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका मन्त्री साङ ताओसँग भेट गरे । उक्त भेटपछि साङ ताओले आफ्नो नेपाल भ्रमणको कार्यतालिकासमेत रद्द गरे ।

यी भेटहरु कम्युनिस्ट एकताको माहोल तयार गर्न केन्द्रित देखिन्छन् । चीनले कम्युनिस्ट मिलाउने प्रयास गर्दै आएको छ । चुनाव नजिकिदै गर्दा चीनले ओली र प्रचण्डलाई मिलाउने पहल थालेको हो । यसबीच चिनियाँ विदेशमन्त्री वाङ यी २५ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शुक्रबार नेपाल आएका छन् । उनले पाकिस्तान र अफगानिस्तान भ्रमण गरी भारत पुगेका थिए । दिल्लीबाट नेपाल आए ।

चिनियाँ विदेशमन्त्रीको भ्रमण दलमा सीसीपीका नेताहरु, उर्जा, वाणिज्य र वित्त मन्त्रलायका अधिकारीहरु पनि रहेका छन् । चिनियाँ विदेशमन्त्रीले उच्चस्तरीय भेटवार्ता गरिरहँदा भ्रमण दलमा रहेका सीसीपीका अन्य नेताहरु भने कम्युनिस्ट नेताहरुसँगको भेटवार्तामा व्यस्त भएका छन् । विश्वस्त स्रोतका अनुसार चीन अहिले नेपालमा रहेका सबै कम्युनिस्टहरुलाई एकढिक्का बनाउन चाहन्छ ।

स्थानीय तहको निर्वाचन संघारमा आइसकेको समयमा विभिन्‍न कित्तामा विभाजित कम्युनिस्टहरुलाई एकढिक्का बनाएर आगामी निर्वाचनपछि मुलुकमा फेरि कम्युनिस्ट सत्ता आएको हेर्ने चिनियाँ चाहना रहेको छ ।

नेपालमा लोकतान्त्रिक भनिएको नेपाली कांग्रेस दक्षिण र पश्‍चिमी खेमातर्फ ढल्किएको विश्लेषण गर्दा चिनियाँ प्रभाव कायमै राख्‍नका लागि चीनले नेपालमा कम्युनिस्ट सत्ता चाहन्छ । यसका लागि सबै कम्युनिस्टहरु एकढिक्का नभएर सम्भव छैन ।

२०७४ सालको निर्वाचनको समयमा पनि दुई ठूला कम्युनिस्टहरुलाई एकठाउँमा ल्याउन चीनले ठूलो मिहनेत गरेको थियो । तर, ०७७ कात्तिकमा दक्षिणतर्फबाट भारतीय जासुसी संस्था रअका प्रमुख सामन्त गोयलको नेपाल भ्रमणपछि नेपाल कम्युनिस्ट पार्टीमा विभाजन सुरु भएको थियो ।

उक्त विभाजनलाई रोक्‍न चीनले निकै ठूलो प्रयत्‍न गरे पनि सफल हुन सकेको थिएन । चीनले नेकपा माओवादीलाई कुनै अर्को समाजवादी अथवा अन्य कुनै नाम दिएर माओवादी भन्‍ने शब्दावली हटाउन चाहन्छ । जसका कारण सबै कम्युनिस्टहरुलाई एक ठाउँमा ल्याएर आगामी चुनावमा होमिन आग्रह गर्ने चिनियाँ रणनीति रहेको छ ।

स्थानीय चुनावमा सकेसम्म सबै कम्युनिस्ट नभएको अवस्थामा प्रचण्ड, माधव नेपाल र बाबुराम नेतृत्वको पार्टीहरुलाई गठबन्धन गराएर संघ तथा प्रदेश निर्वाचनमा सबै कम्युनिस्टहरुलाई गोलबद्ध गर्ने गरी चीनले संवाद थालेको छ ।

१३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया