शुक्रबार १९ जेठ २०८०

काठमाडौं / स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै देशको संघीय राजधानी भएको काठमाडौं महानगरपालिका प्रमुखको उम्मेद्‍वारबारे चर्चा चल्न थालेको छ । सबै पार्टीमा सम्भावित उम्मेदवारको चर्चा जारी छ ।

निर्धारित मितिअनुसार स्थानीय तहको चुनाव हुन अब ५५ दिन बाँकी छ । काठमाडौंको मेयरका लागि केन्द्रदेखि जिल्ला तहका नेताहरुले आ-आफ्नो पार्टीभित्र लबिङ तीब्र पारेका छन् ।

पार्टीदेखि मात्रै होइन, स्वतन्त्र उम्मेद्वारको पनि चर्चा चलिरहेको छ । चर्चित र्‍यापर बालेन शाहले आगामी स्थानीय तहको निर्वाचनमा महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै अभिनेता राजेश हमालले काठमाडौं महानगरपालिकाको मेयर बन्ने इच्छा व्यक्त गरेका थिए ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले आफू काठमाडौंको मेयरमा उठ्ने मिल्ने बताएका छन् । एक ट्वीटर प्रयोगकर्ताले बाबुराम जस्ता आँट भएका व्यक्ति नआएसम्म काठमाडौंको विकास नहुने विचार व्यक्त गर्दै प्रधानमन्त्री भइसकेका व्यक्तिलाई मेयरको प्रस्ताव गर्न मिल्ला कि नमिल्ला भनेर प्रश्न गरेकी छन् ।

सम्झना नाम गरेकी ट्वीटर प्रयोगकर्ताले लेखेकी छन्– ‘बाबुराम भट्टराईलाई काठमाडौं महानगरको मेयर बनाउँदा कसो होला ? कहिलेकाहीँ म सडक हिँड्दा बाबुरामलाई सम्झिँन्छु, यदि उनले यो बाटो विस्तार गर्ने आँट नगरेको भए के हुन्थ्यो ? प्रधानमन्त्री बनेको मान्छे मेयरको कुरा गर्न नमिल्ला तर यो काठमाडौं बाबुराम जस्ता आँट भएका मान्छे न आइ बन्दै बन्दैन ।’

यसको जवाफ दिँदै पूर्वप्रधानमन्त्री भट्टराईले विश्वका विभिन्न देशमा प्रधानमन्त्री भइसकेका व्यक्तिहरू आफ्नो नगरको मेयर बनेका उदाहरण पनि पेस गरेका छन् । उनले फ्रान्सका पूर्वप्रधानमन्त्री इडुवार्ड फिलिप अहिले त्यहाँको ले हाभ्रे नगरको मेयर रहेको समेत बताएका छन् ।

भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री भएको मान्छे मेयर बन्न गजबले मिल्छ । फ्रान्सका पूर्वप्रधानमन्त्री Edouard Philippe अहिले त्यहाँको Le Havre नगरका मेयर छन् । म सधैँ साथीहरूलाई भन्ने गर्छु जीवनमा जनताका लागि केही सार्थक काम गर्ने मन छ भने सांसद ताक्ने हैन आफ्नो पालिकाको प्रमुख /मेयर बन्नोस् । कसैले सुने पो । हाम्रो संस्कार जो छ ।’

१४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया