
काठमाडौँ / १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले यसको नियन्त्रण गर्न पशु सेवा विभागसँग जनशक्ति र रकम अभाव भएको छ ।
विभागका प्रवक्ता डा. चन्द्र ढकालले १० वटा जिल्लाका विभिन्न स्थानमा बर्डफ्लु फैलिएको भेटिए पनि हालसम्म नियन्त्रणमै रहेको बताउँदै यसरी बढ्दै गयो भने नियन्त्रणभन्दा बाहिर जान सक्ने चेतावनी दिए । अन्य जिल्लाबाट पनि परीक्षणका लागि नमुना आउने क्रम बढेको जनाइएको छ ।
उनले १० वटा जिल्लामा ६० हजारभन्दा बढी पन्छी नष्ट गरिसकेको र त्यसको क्षतिपूर्ति दिन रकमको अभाव भएको बताए । उनले भने, “किसानलाई क्षतिपूर्ति दिन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग रकम माग गरेका छौँ तर हालसम्म त्यसको केही प्रतिक्रिया आएको छैन ।” अहिले पाँचदेखि छ करोड रुपियाँ माग गरिएको उनले बताए । याे खबर आ’जको गोरखापत्र दैनि’कमा छापि’एको छ ।
यो अ’र्को समाचार :- भरतपुरमा फोहोरबाट मोहर खोजिदै : भरतपुर। घरबाट निस्कने फोहोर हरेक व्यक्तिका लागि समस्याका रूपमा रहेको हुन्छ । एक दिन घरबाहिर फाल्न पाइएन भने घरमै दुर्गन्ध आउँछ ।
अझै सडक छेउछाउ तथा नदी किनारमा जताततै फालिएका यस्ता फोहोरले दुर्गन्ध मात्रै फैलाएको छैन, वन र वन्यजन्तुमा समेत गम्भीर असर परिरहेको छ । तर यही फोहोरलाई मोहरमा परिवर्तन गर्न जान्नेका लागि राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ ।
भरतपुर महानगर वडा नम्बर ३ मा डेरा गरी बस्ने लक्ष्मी गुरुङ गत पाँच वर्षदेखि फोहोरको डङ्गुुरमा मोहर कमाउन व्यस्त हुनुहुन्छ । उहाँले आफ्नो घर खर्च चलाउन र छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउन यो आम्दानीले सहज भएको प्रतिक्रिया दिनुहुन्छ ।
“बाहिर काम सजिलै पाइँदैन । पाइहाले पनि हामी नपढेकाले महिनाभरी ज्यालादारी गरेर १० हजारदेखि १५ हजार रुपियाँ कमाउन मुस्किल छ”, फोहोरमा कवाडी समान खोजेर बेच्दा राम्रो आम्दानी हुने तर्क गर्दै उहाँले भन्नुभयो, “हामीले यहाँ कवाडी समान सङ्कलनबाट दिनमै तीन चार हजार रुपियाँ जम्मा गरिरहेका छौँ ।” लक्ष्मीको भनाइलाई आधार मान्दा न्यूनतम दैनिक तीन हजारको कमाइ भनेको महिनामा ९० हजारको कमाइ हो ।
यो रकम निजामती सेवाका सचिवको तलब भत्ताभन्दा बढी हो । “मैले घरमा छोराछोरी धरालो हेर्नेलाई पनि महिनामा पाँच छ हजार त तलब दिएर राखेको छु”, उहाँले भन्नुभयो, “आफू बिहानै उठेर फोहोरको थुप्रोमा आउनुपर्छ । अनि घरमा भएका बच्चालाई खाना खुवाई विद्यालयसम्म लैजाने र बेलुका विद्यालयबाट ल्याएर खाजा खुवाउने धरालेको काम हुन्छ ।” यो खबर पनि आ’जको गोर’खापत्र दैनि’कमा छा’पिएको छ ।