शुक्रबार १२ आश्विन २०८०

काठमाडौँ / नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सङ्गठन निर्माणको योजनालाई ठोस रुप दिन चार सदस्यीय कार्यदल गठन गरेको छ ।

बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकले सङ्गठन निर्माणको योजनालाई ठोस रुप दिई प्रतिवेदन पेश गर्नका लागि चार सदस्यीय कार्यदल गठन गरेको हो ।

कार्यदलमा स्थायी कमिटी सदस्यहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दन शर्मा रहेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले भने, ‘स्थायी कमिटीको बैठकले पार्टीको अहिलेको समग्र सङ्गठनात्मक स्थितिको यथार्थलाई अगाडि राखेर अबको सङ्गठन निर्माणको यो योजनालाई ठोस रुप दिन केही दिनभित्रैमा प्रतिवेदन पेश गर्ने गरी चार सदस्यीय कार्यदल गठन गरेको छ ।’

बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीसँग भएको वार्ताको सम्बन्धमा जानकारी गराएको प्रवक्ता श्रेष्ठले जानकारी गराए । बिहीबार पनि अध्यक्ष प्रचण्डले विभिन्न पार्टीका नेताहरुसँग थप वार्ता गर्ने जानकारी दिएका थिए भने निर्वाचन आयोगले नेकपा (माओवादी केन्द्र)लाई पठाएको पत्र अध्यक्ष प्रचण्डले बैठकमा पढेर सुनाएका थिए ।

प्रवक्ता श्रेष्ठले अन्य पार्टीहरुसँग सहमति गरेर निष्कर्षमा पुग्नका लागि गृहकार्य गरिराखेको भन्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता गर्ने निर्णय नगरिएको पनि बताए ।

स्थायी कमिटी बैठकले पार्टीको चैत्र २ गते हुने प्रशिक्षणात्मक भेलामा सहभागी हुने नेता कार्यकर्ताको हकमा मापदण्ड निर्धारण गरिएको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

५४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया