शनिबार ३० आश्विन २०७८

काठमाडौं/ माओवादी केन्द्रले सरकार निर्माणका लागि सबै दलहरुसँग वार्ता गर्ने निर्णय गरेको छ । मंगलबार पेरिसडाँडामा बसेको बैठकले सबै दलहरुसँग वार्ताको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अब कोसँग मिलेर सरकार बनाउनुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता श्रेष्ठले भने,‘ हामी वार्ताका लागि खुल्ला भएका छौं । काँग्रेस, जसपा र एमालेसँग पनि वार्ता गर्छौं ।’ उनले वार्ताका लागि काँग्रेस र जसपा पहिलो प्राथमिकतामा राखिएको बताए ।

वार्तामा कुनै शर्त नराखिने समेत बताए । खुल्ला रुपमा वार्ता गर्ने श्रेष्ठले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिइआएको समर्थन फिर्ताको विषयमा केन्द्रीय समिति बैठक बसी टुंगो लगाउने बताए ।

श्रेष्ठले नयाँ परिस्थितिबारे नेकपा एमालेसँग पनि छलफल जारी राखेको बताए । यद्यपि, अहिले नै समर्थन फिर्ता लिने बारे भने कुनै निर्णय नभएको जानकारी दिए । ‘हामीले एमालेसँग पनि छलफल जारी राखेका छौँ । तर, अहिले मुख्य जोड नेपाली काँग्रेस र जसपासँगको छलफलमा छ,’ श्रेष्ठले भने ।

उनले बुधबार स्थायी कमिटी बैठक बस्ने र २९ फागुनमा केन्द्रीय कमिटी बैठक बसी समर्थन फिर्ताबारे निर्णय लिने बताए । श्रेष्ठले सञ्चारकर्मीहरुसँग कुरा गर्दै दुई तिहाइको सरकार बनाएर समाजवादको आधार तयार गर्ने अवसर गुमाएको बताए। माओवादी केन्द्रले चैत १ गते कार्यकता भेला गर्ने भएको छ।

उनले निर्वाचन आयोग र सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई मिलाउने तथा जुटाउने नभई आफैँले गर्ने बताए।

४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया