
काठमाडौं, १२ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका छन् ।
नयाँ बानेश्वरस्थित् संसद् भवनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँगको छलफल सकिएलगत्तै एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारतर्फ प्रस्थान गरेका हुन् ।
माओवादीका नेताहरुसँग पनि सकारात्मक छलफल भएको एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनाए । माओवादी केन्द्रसँग निरन्तर यहीअनुसार छलफल हुने पनि उनले जनाए ।
तर, माओवादी केन्द्रका नेताहरुसँगको छलफलभन्दा अगाडि प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुसँग भएको छलफल धेरै राम्रो भएको उनको टिप्पणी थियो । एमसीसीलाई लिएर राजनीतिक दलका शीर्ष नेताहरु भेटवार्तामा व्यस्त छन् ।
एमसीसीमाथि छलफल हुने संसदको कार्यसूची सार्वजनिक : प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची सार्वजनिक गरिएको छ ।
संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।
‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ । बैठक शुक्रबार दिउँसाे १ बजे बस्नेछ ।