
काठमाडौं / नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । बुधबार केन्द्रीय तथ्यांक विभागले २०७८ को जनगणनाको प्रारम्भिक विवरण सार्वजनिक गरेको हो ।
विभागका अनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार १६९ र पुरुषको जनसंख्या एक करोड ४२ लाख ९१ हजार ३११ रहेको छ । अघिल्लो पटक गणना गर्दा नेपालको जनसंख्या २ करोड ६४ लाख थियो ।
प्रारम्भिक विवरणअनुसार विदेशमा रहेका नेपालीको जनसंख्या २१ लाख ६९ हजार ४ सय ७८ र नेपालमा जम्मा परिवार संख्या ५६ लाख ४३ हजार ९ सय ४५ रहेको छ । जनसंख्याको वृद्धिदर शून्य दशमलव ९३ रहेको छ । अघिल्लोपटक एक प्रतिशतभन्दा बढी जनसंख्या वृद्धिदर थियो ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ । विभागका उपनिर्देशक हेमराज रेग्मीका अनुसार २०७८ सालको जनगणनाको विस्तृत तथ्याँक ६ महिनाभित्रमा आउनेछ ।
विभागले भदौ ३० गतेदेखि असोज १८ सम्म घर तथा घर–परिवारको सूचीकरण तथा कात्तिक २५ देखि मंसिर ९ गतेसम्म मुख्य जनगणनाको काम गरेको थियो ।
सबैभन्दा बढी जनसंख्या हुने प्रदेश मधेश , कम जनसंख्या हुने प्रदेश कर्णाली
नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।
तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो ।
त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।
यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ०.७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ ।