
काठमाडौँ/ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा खारेजीपछि एकै ठाउँमा उभिएर राजनीतिक अभ्यास गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले अब फरकफरक बाटो हिड्ने निर्णय गरेका छन्।
अर्थात एमाले पृष्ठभूमिका नेताहरु एमालेमै फर्केर र माओवादी पृष्ठभूमिका नेताहरुले माओवादीमै रहेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै एकअर्कासँग विदाई भएका छन्।
नेता झलनाथ खनालले कानुन अनुसार पार्टी एक भएकोमा कानुनले अलग गराएका कारण अव एकै ठाउँमा रहने भन्दा पनि आआफ्नो घर फर्कन राम्रो हुने भएकाले आफूहरुले त्यसै निर्णय गरिएको हो।
सर्वोच्च अदालतले गरेको राजनीतिक फैसलाले फरक वातावरण सिर्जना गरेको र त्यसलाई आत्मसाथ गर्नु सबैको कर्तव्य भएको खनालले बताए। तर उनले भने,‘ सर्वोच्चले राजनीतिक निर्णय गरेको हामीलाई महशुस भएको छ। यसमा हाम्रो असहमति छ। अब आआफ्नै पार्टीमा रहेर वामपन्थी एकतालाई अघि बढाउन दृढतापूर्वक लाग्छौँ। ओलीविरुद्ध लड्ने छौँ।’ उनी बैठकमा ‘फेरि भेटौँला’ भन्दै बाहिरिएका थिए ।
स्थायी कमिटी सदस्य गणेश शाहले पनि त्यसको पुष्टी गरे। जे भएपनि अदालतको फैसला मान्नु पर्ने भएकाले अव एमाले पृष्ठभूमिका नेताहरु एमालेमै र माओवादी पृष्ठभूमिका नेताहरु माओवादीमै जाने र त्यहीँबाट संघर्ष गर्ने निर्णय गरेको जानकारी दिए। उनले भने,‘ यो हाम्रो चाहना होइन। हामीलाई बाध्य पारियो पूर्वपार्टीमा फर्कन। तर हामीली आफ्नो लडाईँ जसरी पनि जारी राख्ने छौँ।’
पूर्वएमालेमा वरिष्ठ नेताको हैसियतमा रहेका नेता नेपालका पक्षले स्थायी कमिटी बैठकमा जानुभन्दा पहिले राजधानीको एक होटलमा सोही निष्कर्ष निकालेको थियो।’ छलफलमा नेपाल पक्षका नेपालसहित, अष्टलक्ष्मी शाक्य, पन्त, युवराज ज्ञवाली, भीम आचार्य, बेदुराम भुसाल, घनश्याम भुसाल, योगेश भट्टराईलगायत सामेल थिए।
उनीहरुले सर्वोच्चको फैसलालाई अवमुल्यन गर्न नमिल्ने भएकाले आफूहरु एमालेमै फर्कनुपर्ने र पार्टी एकताका लागि प्रचण्डलाई पनि ओलीसँग समल्न आग्रह गर्नुपर्ने सुझाव दिएका थिए। २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो।
नेता माधवकुमार नेपालले आफूहरू जहाँ रहे पनि बाम एकताको प्रयास जारी रहने प्रतिक्रिया दिएका छन्। पत्रकारसंग कुरा गर्दै नेता नेपालले भने, ‘हाम्रो विशाल छाती छ। सबैलाई समेट्न सक्छौं। सम्भावनाहरू अझै धेरै छन्।’
सर्वोच्च अदालतको फैसलाले नै एमाले र माओवादी केन्द्रलाई दुई पार्टी बनाइदिएको उनले बताए। निर्वाचन आयोगमा पनि छुट्टै रुपमा एमाले र माओवादी दर्ता रहेकाले आयोगसँग यसबारेमा परामर्श गरिने उनले बताए।
‘आयोगमा अलग-अलग रूपमा एमाले र माओवादी पार्टी दर्ता भएका छन्। यी पार्टी के हुने हो भन्ने पनि टुंगो छैन। आयोगसँग गम्भीर रूपमा छलफल गरेर अघि बढ्छौं,’ नेता नेपालले भने।
हे’र्नुहोस् भिडियो:-