
काठमाडौँ/ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशलाई जबरजस्ती धर्म निरपेक्ष बनाई सनातन धर्म र संस्कृतिमाथि विश्वास घटाउने काम भएकाले दुश्कर्महरु बढ्दै गएको बताउनुभएको छ ।
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा १११ औं नारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले धर्ममा विश्वास घट्दै गएकोले दुष्कर्म बढेको दाबी गर्नुभएको हो ।
उहाँले सनातनदेखि मान्दै आएको धर्मलाई विभिन्न वहाना र अनेकौं स्वार्थका खातिर कमजोर बनाउँदै लगिएकाले महिलामाथि हिंसा, बलात्कार लगायतका कार्यले प्रश्रय पाएको बताउँदै परम्परादेखि चल्दै आएको धर्म र पापको डरलाई कायम राख्न सकेमात्र जनजीवन सहज ढंगले अगाडि बढ्ने बताउनुभयो ।
धर्म र संस्कृतिलाई हृदयदेखि अनुशरण गर्न महिलाहरु नै अग्रपङ्तिमा रहनुभएकाले यसलाई व्यापकता दिलाउन पनि महिलाहरुकै भूमिका उपयुक्त हुने थापाको भनाई छ ।