
काठमाडौं/ नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपाल पक्ष पूर्वएमालेमै फर्किने मनस्थितिमा पुगेर प्रचण्ड खेमासहितको स्थायी समिति बैठकमा सामेल भएको छ । सर्वोच्च अदालतको फैसलाले पूर्वएमाले र पूर्वमाओवादीको एकीकरण उल्ट्याइदिएपछि एमालेमा फर्किनुपर्ने बाध्यात्मक अवस्था बनेको नेपालनिकट एक नेताले बताए ।
अर्याल होटलमा भर्खरै सम्पन्न नेपाल समूहको बैठकले एमालेमै फर्किएर ओलीविरुद्ध अन्तरसंघर्ष चर्काउने अनौपचारिक निर्णय गरेको बताइन्छ ।’अदालतको फैसलापछि केही समस्या आएको छ,त्यसबारे कसरी अगाडि बढ्ने भनेर छुट्टै छलफल भएको हो, यहि गर्ने भन्ने निर्णय भैसकेको छैन । तर,बाध्यात्मक परिस्थिति आएको छ । संवैधानिक व्यवस्थालाई समेत ध्यानमा राखेर निर्णय हुन्छ ।’
उनले आफूहरुले गर्ने निर्णयले प्रदेशदेखि स्थानीय तहसम्म पार्ने प्रभाव र त्यसको वैधानिकताबारे छलफल भैरहेको पनि बताए । ‘४० जना संघीय सांसददेखि स्थानीय तहसम्मको वैधानिकता हेरेर निर्णय गर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘के गर्ने भन्ने आजको स्थायी कमिटी बैठमा पनि केही छलफल हुनसक्छ । त्यसपछि एउटा डिसिजनमा पुगिएला ।’
आइतबार सर्वोच्चको फैसलालगत्तै पुष्पकमल दाहाल प्रचण्ड र नेपालले आफूनिकट कानुन व्यवसायीहरुसंग छलफल गरेका थिए । उक्त छलफलमा कानुन व्यवसायीहरुले अदालतको फैसला राजनीतिक प्रकृतिको भएकाले पुनरावलोकनमा जान सुझाएका थिए ।
यसै क्रममा नेकपा एमाले ब्युँतिएपछि त्यहाँ कस्को कति शक्ति रहेको मापन हुन थालेको छ । नेकपा एमालेको नवौं महाधिवेशनले केपी शर्मा ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । महासचिवमा इश्वर पोखरेल निर्वाचित भएका थिए ।
अब एमालेको विधान अनुसार अध्यक्षलगायत पदाधिकारीका अलावा केन्द्रीय सदस्य सबै निर्वाचित हुनुपर्छ । त्यही अनुसार शक्तिको मापन हुन्छ ।
एमालेमा १४ पदाधिकारीमध्ये ५ जना पदाधिकारीमात्र ओली पक्षमा छन् । ७ जना माधव नेपाल पक्षधर छन् । उपाध्यक्ष निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति भइसकेकाले उक्त पद खाली छ । निर्वाचित उपाध्यक्ष बामदेव गौतम तटस्थ छन् ।
नेकपा एमालेको स्थायी कमिटिमा १४ जना माधव नेपाल पक्षमा छन् भने ९ जना ओली पक्षमा छन् । यसरी पदाधिकारी र स्थायी कमिटीमा नेपाल बहुमतमा छन् ।
यसरी नेकपा एमालेको पार्टी कमिटीको माथिल्लो तहमा ओली अल्पमतमा छन् । केन्द्रीय कमिटीमा ओली र नेपाल समूह बराबरीको अवस्थामा छन् । उक्त कमिटीमा बामदेव गौतम निर्णायक अवस्थामा छन् ।
केपी शर्मा ओली पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.केपी ओली अध्यक्ष
२.इश्वर पोखरेल महासचिव
३. प्रदिप ज्ञावली सचिव
४.पृथ्वी सुब्बा गुरुङ सचिव
५. विष्णु पौडेल उपमहासचिव
स्थायी कमिटी सदस्य
६.शंकर पोखरेल
७. सत्यनारायण यादव
८. सुवास नेम्वाङ
९ . विष्णु रिमाल
माधव नेपाल-झलनाथ खनाल पक्षधर पदाधिकारी र स्थायी कमिटी सदस्य
१.माधवकुमार नेपाल वरिष्ठ नेता
२.झलनाथ खनाल वरिष्ठ नेता
३. अष्टालक्ष्मी शाक्य उपाध्यक्ष
४. भिम रावल उपाध्यक्ष
५. युवराज ज्ञावली उपाध्यक्ष
६. घनश्याम भुषाल उप महासचिव
७ . गोकर्ण विष्ट सचिव
८. योगेश भट्टराई सचिव
९. भिम आचार्य सचिव
स्थायी कमिटी सदस्य
१०.सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. रघुजि पन्त
१३. बेदुराम भुषाल
१४. अमृत बोहोरा पदेन स्थायी कमिटी सदस्य
माधव नेपाल भन्छन्, मेरो त राजनीति नै सकिदिए, मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी आयो होला ?
सर्वोच्च अदालतको आइतबारको फैसलाले तत्कालीन नेकपा एमालेभित्रका माधव नेपाल–झलनाथ खनाल पक्षलाई ठूलो झट्का दिएको छ। फैसलाले नेपाल–खनाल पक्षलाई ओली नेतृत्वको एमालेमै बस्नुपर्ने अवस्थामा पुर्याइदिएको छ।
माओवादी केन्द्रसँग एकता गर्न वा छुट्टै पार्टी खोल्न तत्कालीन एमालेको संसदीय दल र केन्द्रीय समिति दुवैमा कम्तीमा ४० प्रतिशत सदस्यको सहमति आवश्यक पर्छ। संसदीय दलमा ४० प्रतिशत सदस्य नरहेको ठानिएका नेपाल–खनाल पक्षलाई आइतबारको फैसलाले थप संकटमा पारेको संविधानविद् आचार्यले बताए।
“अब नेपाल–खनाल पक्षले कि ४० प्रतिशत पुर्याएर पार्टी फोड्न वा माओवादी केन्द्रसँग एकता गर्नसक्छन्, उनीहरूले त्यसो गर्न सकेनन् भने ओली नेतृत्वकै एमालेमा बस्नुपर्छ,” उनले भने, “सरकारले विश्वासको मत लिने प्रयास गर्दा ओलीलाई भोट हाल्ने वा नहाल्ने संकटमा उनीहरू छन्। भोट नहालेमा ओलीले कारबाही गर्न सक्ने सम्भावना छ।”
सर्वोच्च अदालतको नेकपा बारे दिएको फैसलाले सबैभन्दा ठूलो समस्या ओली तर्फ गएका पूर्व माओवादी र प्रचण्ड तर्फ गएका पूर्व एमालेहरुलाई परेको छ ।
लामो समय एमालेमा रहेर सहकार्य गरेका माधवकुमार नेपाल अहिले नेकपाको प्रचण्ड नेपाल पक्षमा छन् । उनी नेकपाको अध्यक्ष छन् । तर सर्वोच्चले ओली र प्रचण्ड नेपाल दुवै पक्षलाई नेकपा नदिएपछि पार्टी पुर्ववत अवस्थामा फर्किएको छ ।
तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्र ब्युँतिएको छ । तर एमालेमा राजनीति गरेर प्रचण्ड तर्फ आएका माधवलाई निकै ठूलो समस्या भएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको पछाडी लाग्दा बर्वाद भएको बताउन थालेका छन् । सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र ब्युँत्याएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
नेता नेपालले सर्वोच्चको आदेशपछाडी सबैभन्दा अप्ठ्यारो आफुलाई नै परेको बताउनु भयो । ‘हो । सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो, मैले त सोच्दै नसोचेको कुरा भयो । यो ढंगको निर्णय त कसरी होला र ? कसरी होला र भन्नेमात्रै लाग्थ्यो के ?, उनको भनाई छ ।
आफु निकट नेताहरुसँग उहाले आफ्नो राजनीतिक जिवन नै सक्किएको भन्दै गुनासो पोख्न थाल्नु भएको एक नेताले बताएका छन् ।
यसै क्रममा कान्तिपुरमा पनि उनले अन्तर्वार्ता दिदै भनेका छन् यो त विचित्रको फैसला भयो त । यस्तो पनि हुन्छ ? पार्टी एक भएको छ । नाम फेर भन्नु एउटा कुरा हो । एकीकरण नै भएन भन्न पनि कहीँ मिल्छ ? दुइटा पार्टी अलगअलग निर्णय गरेर एकताबद्ध भए । एकताबद्ध भएपछि नाम मिलेन भन्नु एउटा कुरा भयो । एकीकरणको वैधतामा नै प्रश्न खडा हुन सक्छ ?
न्यायिक हुन्छ होला नि त निरुपणका पक्षहरु । हामी कसरी अघि बढ्दा ठीक हुन्छ भनेर छलफल गर्दैछौँ । सरकारको वैधतामा त प्रश्न खडा भई नै हाल्यो । अदालतको फैसलाबाट यो सरकार त रहेन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सरकार नै भएन भनेपछि यो कसको सरकार हो भन्ने प्रश्न खडा भयो ।
सरकारको विषयमा त नयाँ ढंगबाट कुरा चल्ने नै भइहाल्यो । सरकार हट्ने नै भयो, गिर्ने नै भयो । नयाँ समीकरणको कुरा होला । प्रचण्डजीको समूह त आफ्नो ठाउँमा छँदैछ इन्ट्याक्ट । सबैभन्दा ठूलो समस्या त पूर्व एमालेभित्रको विभाजन हो ।
केपी अध्यक्ष भएर बसेकै मान्छे परे । अब यस विषयमा हामीले कानुनी हिसाब र राजनीतिक हिसाबले पनि छलफल त गर्नै पर्यो, सबै हिसाबले सोच्नै पर्यो । छलफल गरिरहेका छौं । अहिले नै केही भन्न सकिने अवस्था रहेन ।
सबैभन्दा अप्ठ्यारो मलाई नै पऱ्यो । किन यस्तो भयो होला ? यो त विचित्रै भयो । जुन चिजमा प्रवेश नै नगर्नुपर्ने किन यस्तो गरेको होला ? के हो ? टार्गेट त मलाई बनाएको देखियो हेर्नुस्, केपी ओलीलाई पनि बनाएको देखिएन, प्रचण्डलाई पनि बनाएको देखिएन । मैसँग यत्रो रिसइबी साध्ने स्थिति कसरी भयो न्यायाधीशहरूलाई ? कसरी आइपर्यो त्यो स्थिति ?