आइतबार १२ चैत्र २०७९

काठमाडौं/ नेकपा प्रचण्ड माधव समूहले आइतबारको प्रतिनिधिसभा बैठक बहिस्कारसँगै संसद् बैठकबाट बाहिरिएका छन् । आइतबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसद नभएका बेला ल्याएका अध्यादेशहरु पेश गर्ने कार्यसूची राखेको विरोधमा उनीहरुले संसद बैठक बहिस्कार गरेका हुन् ।

बैठकको सुरुमा नै प्रचण्ड माधव समूहका सांसद भीम रावलले प्रतिनिधिसभामा शोक प्रस्ताव पारित गर्ने दिन कार्यसूचीमा अन्य विषय नराखिने प्रचलन भएको भन्दै अध्यादेश पेश गर्ने कार्यसूची राखेकामा विरोध जनाएका थिए ।

तर सभामुख अग्निप्रसाद सापकोटाले सरकारले ल्याएका अध्यादेश संसद बैठक सुरु भएकै दिन पेश गर्नुपर्ने कानुनी बाध्यता रहेकाले अध्यादेशलाई कार्यसूचीमा राखिएको प्रष्टिकरण दिए । तर भीम रावलले आफूहरुको विरोध रहेको बताएका थिए । सभामुख सापकोटाले विरोध रहे पनि संसद बैठक अघि बढाउने बताएपछि प्रचण्ड माधव समूहले बैठक बहिस्कार गरेर हलबाट बाहिरिएका हुन् ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीको हो भनेर सभामुख अग्नि सापकोटालाई सांसद भीम रावलले प्रश्न गरेका छन् । ३ मिनेटको समय बोल्न दिइएको समयलाई पर सार्दै वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो? भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘यो कसको सरकार हो र वर्तमान प्रधानमन्त्री कुन पार्टीको हो र यो सरकारले अध्यादेश ल्याउन पाउने कि नपाउने भन्ने त्यसपछि कुरा गर्न सकिन्छ।’

उनले बोलिरहेका बेला नेकपा ओली पक्षका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका छन्।

२७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया