बिहिबार ११ आश्विन २०८०

काठमाडौं/ सर्वोच्च अदालतले नेकपाको बारेमा दिएको फैसला पछि पूर्व एमालेहरु खुशी भएका छन् । तत्कालिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले ब्युँझिएको प्रतिक्रिया दिएका छन् । धेरै नेताहरुले सामाजिक सञ्जालमा खुशी ब्यक्त गरेका छन् ।

सर्वोच्च अदालतले सत्तारूढ नेकपाको वैधानिकता बदर गर्दै साविक माओवादी केन्द्र र एमाले ब्युँताइदिएको हो । यो फैसलाले प्रधानमन्त्री केपी ओली पक्ष खुसी देखिएको हो ।

सर्वोच्च अदालतले पहिल्यै निर्वाचन आयोगमा दर्ता ऋषि कट्टेलको नेकपालाई मान्यता दिएको फैसला परराष्ट्रमन्त्री एवं ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले खुसी हुँदै सामाजिक सञ्जालमा सेयर गरेका हुन् ।

यस्तै प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले पनि त्यही फैसला सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्, ‘हामी अब २०७५ जेठ २ गतेको अवस्थामा फर्केका छौं।’

यता प्रधानमन्त्री केपी शर्मा ओलीले अब साविक नेकपा एमालेको बैठक बोलाउने बताएका छन् । आइतबार बालुवाटारमा बोलाइएको संसदीय दलको बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला अनुसार एमालेको बैठक बस्ने बताएका हुन् ।

केही दिनभित्रै एमाले दलको बैठक बसेर नयाँ राजनीतिक कोर्सबारे निर्णय लिइने पनि ओलीले बताए । राष्ट्रियसभामा नेकपाको उम्मेदवार बनेर निर्वाचित सांसदहरुबारे विशेष निर्णय गर्ने पनि ओलीले बताएका छन् ।

त्यस्तै ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्‌मा विश्वासको मत लिने बताएका छन् । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको एक सांसदले जानकारी दिए ।

७०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया