
काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व परिवर्तन र पुस्तान्तरणको कुरा ‘राप्रपा’बाट सिक्न अन्य दललाई आग्रह गरेका छन् ।
आइतबार (आज) प्रज्ञा प्रतिष्ठानमा आयोजित सपथग्रहण समारोहमा अध्यक्ष लिङ्देनले नेपाली कांग्रेस र एमालेलाई पुस्तान्तरणको कुरा राप्रपाबाट सिक्न आग्रह गरेका हुन् ।
अध्यक्ष लिङ्देनले भनेका छन्, ‘पुस्तान्तरणको कुरा कांग्रेस र एमालेमा उठ्यो तर, सफल भएन । राप्रपामा हुने नेतृत्व हस्तान्तरणले अन्य पार्टीलाई पनि छोयो होला ।’
यस अगाडि अध्यक्ष लिङ्देनले भने, ‘किन राजनीतिक दलहरु बारम्बार फुटिराख्छन् ? त्यसको खोजी गर्दा राजनीतिक पार्टीको विधान र देशको संविधानमा समेत नेतृत्व हस्तान्तरणको व्यवस्था छैन । त्यसैले स्वभाविकले पनि टिकिराख्न वा नेतृत्वमा बसिराख्न मन लाग्छ ।’
त्यस्तै अध्यक्ष लिङ्देनले आफूले सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । आफू पटक–पटक मृ’त्युको मु’खबाट बाँ’चेर आएको भन्दै अबको जीवन राष्ट्र र पार्टीप्रति जिम्मेवार भएर समर्पित गर्ने उनको भनाइ थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र कुनै गुट नरहेको भन्दै सबै राप्रपाको मान्छे रहेको उनको भनाइ छ । लिङ्देनले राप्रपालाई आगामी दिनमा सत्ता साझेदार पार्टीको रुपमा मात्रै नभई देशको अग्रणी पार्टीको रुपमा स्थापित गर्ने दावी गरे ।