
काठमाडौं/ नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सबै राजनीतिक शक्तिलाई जनताको बीचमा जाने गरी नयाँ प्रस्ताव गरेका छन् । उनले घुमाउरो तरिकाले जनमतसंग्रहको प्रस्ताव गरे ।
शुक्रबार दिउँसो सरकारसँग भएको ३ बुँदे वार्तामा हस्ताक्षर कार्यक्रममा यस्तो बताएका हुन् । यस क्रममा विप्लवले कम्युनिस्टहरु विद्रोही मात्रै नभएर शान्तिका दूत समेत भएको बताए ।
सहिदको सपना र जनताको चाहना पूरा गर्न आफूहरु शान्तिपूर्ण राजनीतिमा फर्किएको बताए । केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिलाई उनले ‘घाम र जूनको भेट’सँग तुलना गर्दै भने ‘धेरैले अनेक अनुमान गरेका छन् तर यो सहमति घाम र जूनको भेट जस्तै हो । त्यो सम्भव बनाएर हामी देखाउँछौँ ।’
यस्तै सरकार र आफ्नो पार्टीको वार्ता एक सहमति मात्रै नभएर समृद्ध नेपाल बनाउने सिंगो सपना भएको कुरा । विप्लवले मुलुकको भविष्यको फैसला गर्न जनमत संग्रहमा जानुपर्ने धारणा पनि राखेका छन् ।
विप्लवले नेपालको बारेमा स्वतन्त्र रुपले जनताले मत राख्ने प्रत्यक्ष प्रणालीमा जानुपर्ने धारणा राख्दै भने ‘अब त्यो अवसर र अधिकार हामीले जनतालाई दिनुपर्छ । घुमिफिरी रुम्जाटार पुग्ने परम्परा बन्द गर्नपर्छ ।’