शुक्रबार १२ आश्विन २०८०

काठमाडौं/ सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच बिहीबार तीन बुँदे सम्झौता भएको छ। यससँगै तीन वर्ष भूमिगत भएका विप्लव शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग एउटै मञ्चमा देखिए ।

केही दिनअघिसम्म प्रतिबन्धमा रहेको पार्टीसँग यति छिटो विश्वासको वातावरण कसरी बन्यो र सम्झौता कसरी भयो भन्ने चासो धेरैलाई छ। तर, प्रधानमन्त्री ओली र विप्लवले लामो सहकार्यको योजनासहित यो सम्झौता गरेको दुवै पक्षका नेताहरुले बताएका छन्।

उनीहरुका अनुसार ओली समूह र विप्लवको पार्टीबीच एकता नै गर्ने तयारी छ। कदाचित् एकता सम्भव नभए चुनावी गठबन्धन भएपनि गर्ने योजना दुवै नेताहरुले बनाएका छन्। ओली र विप्लवबीच केही महिनायता सन्देश आदानप्रदान भइरहेको पनि उनीहरुले बताए।

एकतापछि पार्टीको महासचिव बनिदिन ओलीले विप्लवलाई आग्रह गरेको विप्लवनिकट एक नेताले जानकारी दिए।

‘एक महिनाअगाडि ओलीबाट विप्लवलाई मपछिको नेता तपाईं नै हो, पार्टी एकता गरौँ, महासचिव बन्नुपर्‍यो भन्ने प्रस्ताव नै आएको थियो,’ विप्लवनिकट ती नेताले भने, ‘तर, विप्लवले ठ्याक्कै केही भन्नुभएको छैन।’

उनले आफ्नो पार्टीले ओलीको सो प्रस्तावलाई स्वीकार्न सक्ने संकेत पनि दिए। ‘यदि प्रचण्ड–नेपाल पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हो भने हाम्रो पार्टीले पनि केही निर्णय गर्न सक्छ,’ उनले भने।

ओलीनिकट नेताहरुले पनि आफ्नो पक्षबाट एकताको प्रस्ताव राखिएको स्वीकार गरे। यद्यपि, त्यसमा विप्लव सहमत हुने वा नहुने आफूहरुले भन्न नसक्ने ओलीनिकट एक स्थायी समिति सदस्यले बताए।

‘यो सहमति त्यसै जुटेको होइन। एउटा टुंगोमा पुर्‍याउनेगरी सहमति भएको हो,’ ती नेताले भने, ‘उहाँहरु शान्ति प्रक्रियामा आउनुभयो। यसक्रममा उहाँहरुको जुन हार्दिकता देखियो, त्यसले एकताको बाटोतिर जाने संकेत गरेको छ।’

अनेक चरणका औपचारिक र अनौपचारिक छलफलपछि मात्रै सहमति सम्भव भएको उनको भनाइ छ। ओली र विप्लवबीच एकता नभए पनि अहिलेसम्मको सहमति नभत्किने उनको दाबी छ।

‘भोलि चुनाव हुँदा गठबन्धन बनाएर जान सक्छ, कम्युनिस्ट समीकरण बनाउन सकियो भने ठूलो उपलब्धि हुन्छ,’ ती स्थायी समिति सदस्यले भने।

सरकारी पक्ष र विप्लवबीच बुधबार र बिहीबार भएका वार्तामा सहमति जुटेसँगै सो पार्टीमाथिको प्रतिबन्ध हटेको छ। सरकारले विप्लवका सयौँ नेताकार्यकर्तालाई जेलमुक्त गरेर मुद्दा फिर्ता लिँदैछ।

मंगलबार सरकारले विप्लवसँग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सम्मिलित दुई सदस्यीय टोली बनाएको थियो। विप्लवको पार्टीले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा र उदय चलाउने रहेको वार्ता टोली बनाएको थियो। श्रोत नेपाल खबर

८४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया