
काठमाडौं/ व्यवहारिक र राजनैतिक रुपमा विभाजित बनेको सत्तारुढ नेकपाको एकता जोगाउन पार्टीका दोस्रो तहका नेताहरु जुटेका छन् ।
विभाजनले कानुनी मान्यता नपाएपछि दुवै गुटका नेताहरु पार्टी एकता बचाउन लागि परेका हुन् । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभाजन भएको नेकपाले फुटको कानुनी मान्यता नपाएपछि अहिले नेताहरु पार्टी एकताका बारेमा जुट्न थालेका छन् । प्रधानमन्त्री ओली समूह र दाहाल तथा माधव नेपाल समूह एकले अर्कालाई कारबाही गर्ने तथा एकले अर्काको चरित्र हत्या गर्ने होडबाजी चलिरहेको छ ।
यस्तो बेला दुवै समूहका प्रभावशाली नेता शंकर पोखरेल तथा घनश्याम भुसालबीच पार्टी एकताको विषयमा बिहीबार छलफल भएपछि नेपालको राजनीति एकाएक तरंगित भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र पूर्वमन्त्री तथा माधव नेपालका सारथीको रुपमा रहनुभएका भुसालबीच सिंहदरबारमा झन्डै एक घन्टा छलफल भएको थियो ।
छलफलमा दुवै नेताले पार्टी एकतालाई जीवित राख्ने विषयमा गहन छलफल गरेका थिए । झन्डै एक घन्टा भएको छलफलमा दुवै पार्टीका नेताहरुको पछिल्लो अभिव्यक्ति र पार्टी एकताको बारेमा छलफल भएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए ।
सत्ताको भागबन्डा मिल्न नसक्दा दुवै समूह विभाजित भए पनि देशभरका सच्चा कार्यकर्ता भने अझै पार्टी एकताको पक्षमा नै रहेको निष्कर्ष दुवै नेताले निकालेको बताइएको छ ।
पार्टी विभाजनपछि एकता अभियानमा लागेका पार्टीका उपाध्यक्ष वामदेव गौतम भने अझै पार्टी एक हुन सक्ने भन्दै दुवै समूहका नेताहरुसँग छलफल र भेटघाटमा नै व्यस्त रहेका छन् । उनले पार्टी एकता अब ओली समूहबाट सम्भव नरहेकाले दाहाल–नेपाल समूहले पहल गर्नुपर्ने बताउँदै आएका छन् ।
यता प्रचण्ड–नेपाल समूह भने सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपछि ओली समूहप्रति बढी आक्रामक हुँदै ओली समूहसँग वार्तामा बस्न नसकिने भन्दै सरकारको तीव्र विरोध गरिरहेको छ ।
अहिले दुवै समूहका केही नेताका कारण पार्टी एकतामा बाधा पुगेको भन्दै स्थानीयस्तरका नेताहरु चिन्तित देखिएका छन् । दुवै समूहका शीर्ष नेताहरु अहिले एकले अर्काको राजनीतिक भविष्य नामेट पार्ने गरी लागेका कारण कार्यकर्ताहरु निरास हुँदै गएको नेकपाका स्थानीय नेता गोकुल शर्माले बताए ।