बिहिबार २१ मंसिर २०८०

काठमाडौँ/ नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले सङ्घीय संसद् सचिवालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गरेको जानकारी गराएको छ ।

प्रचण्ड–माधव समूहका सांसदहरू देव गुरुङ, पम्फा भुसाल, सुरेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ र दीनानाथ शर्मालगायत नेता संसद् सचिवालय पुगी पार्टीले प्रधानमन्त्री ओलीलाई साधारण सदस्यबाट नै हटाएको पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएका थिए ।

पत्रमा पार्टीको विधानअनुसार साधारण सदस्य तथा अध्यक्षबाट निष्कासन गरिसकेकाले संसदीय दलको नेताको रूपमा रहन नसक्ने भन्दै सम्बन्धित सबैको ध्यानाकर्षण गराइएको छ ।

पार्टीको निर्णयसम्बन्धी पत्र दर्ता गराएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता गुरुङले संसदीय दलका नेताको सवाल भएकाले प्रधानमन्त्रीलाई साधारण सदस्य र अध्यक्षबाट हटाएकोबारे संसद् सचिवालयलाई लिखित जानकारी गराइएको बताए ।

‘संसदीय दलका नेतासँगको कुरा भएकाले पार्टीको अध्यक्षबाट र साधारण सदस्यबाट पनि हटाइसकिएको अवस्था छ,’ नेता गुरुङले भने, ‘मल्टिपार्टी डेमोक्रेसीमा पार्टीकै नीति निर्देशनअनुसार संसदीय दल चल्ने विधिविधान भएकाले त्यहीअनुसार संसदीय दलमा पार्टीले गरेका निर्णयहरूका सम्बन्धमा ध्यानाकर्षण होस् भन्नका लागि पार्टीको तर्फबाट पत्र दर्ता गराइएको हो ।’

अध्यक्ष पुष्पकमल दाहालको हस्ताक्षर भएको ‘जानकारीसम्बन्धी पत्र’मा ‘असंवैधानिकरूपमा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटनको निर्णयलाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापित भइसकेको अवस्थामा माथिका प्रकरणहरूमा उल्लिखित वस्तुतथ्यविपरीत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) तथा यसको सङ्घीय संसदीय दलको नाममा प्रधानमन्त्री केपी शर्मा ओली वा अरू कसैले गरेका वा गर्ने पत्राचार वा कुनै पनि कामकारबाहीलाई अनधिकृत भई मान्य नहुने कुरा जानकारी गराउँछु,’ भनिएको छ ।

४०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया