
वीरगन्ज(पर्सा)/ नेपाल भारत सीमा क्षेत्रका नेपाली सीमावर्ती वस्तीहरुमा प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई पुनः प्रयोगमा ल्याउनका लागि सरसफाई गरेर तस्करी गर्ने गरिएको पाइएको छ ।
नेपाल भारत खुल्ला सीमा जोडिएका वीरगन्ज महानगरपालिका वडा नं. १६ नगवा स्थित सीमा क्षेत्र टिनको टहरा निर्माण गरि प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई सरसफाई गरेर भारत तर्फ तस्करी गर्ने गरिएको हो ।
वीरगन्जमा भन्सार क्षेत्रमा रहेको रजतजयन्ती चोक क्षेत्र आसपासका वस्तीकै बीचमा टहरा निर्माण गरि अस्पतालहरुमा फालिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई संकलन गरि ल्याएर सरसफाई गर्ने गरिएको छ । वीरगन्जका अस्पतालहरुको मात्र नभई काठमाडौैं देखि नेपालका विभिन्न जिल्लामा रहेका अस्पतालहरुमा प्रयोग गरेर फालिएका स्लाइन बोतलका पाइप, पञ्जा तथा सिरिन्जहरुलाई सरसफाई गर्ने गरिएको कारण त्यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्यमा पनि प्रत्यक्ष असर परि रहेको स्थानीयहरुको भनाई छ ।
बाहिरबाट संकलन गरेर ल्याएका स्लाइन बोत्तलका पाइप, पञ्जा सिरिञ्जहरुमा विरामीको रगत लागेको र त्यही सामानहरुलाई गरिब, असहाय परिवारका अनभिज्ञ सोझासाझा नागरिकहरुलाई काम गराउने भन्दै तस्करहरुले औषधीजन्य प्लाष्टिकको पदार्थहरुलाई सरसफाई गर्न लगाउने गरेका छन् ।
सिरिञ्ज सरसरफाई गर्ने खास गरेर गरिब, असहाय परिवारका वृद्धा महिलाहरु रहेका छन् । ति सिरिञ्ज, पाइप र पञ्जालाई सरसफाई गर्दा त्यसबाट सर्ने किटानुबाट आफू पनि संक्रमण हुन सक्ने चेतना समेत नभएका त्यस्ता व्यक्तिहरुलाई काम दिने प्रलोभनमा पारेर तस्करहरुले केही पैसा दिएर सरसफाई गराएर भारततर्फ तस्करी गर्ने गरेका छन् ।
प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरु जताततै छरिएको कारण त्यसबाट त्यस बस्तीका आम नागरिकहरु पनि विभिन्न खाले रोगको शिकार हुने गरेका छन् । त्यसमा पनि साना साना बालबालिकाहरुले खेल्ने क्रममा ति वस्तुहरुलाई उठाएर खेल्दा अर्थात हात, मुखमा लगाउँदा झन संक्रमण फैलेर विभिन्न खाले रोगको शिकार बन्नु परेको स्थानीयहरुको भनाई छ । चारैतिरबाट फोहोर संकलन गरेर ल्याउँछन्, सरसफाई गर्न लगाउँछन् र त्यसलाई प्लाष्टिकको कचरा भनेर तस्करहरुले प्रहरी प्रशासनको मिलोमतामो भारत तर्फ निर्यात गर्दै आएको उनीहरुको भनाई छ ।
अर्कोतर्फ भारत तर्फ तस्करी गर्ने गरिएको ति औषधीजन्य सामानहरु पनि अधिकाँश नेपाली नागरिकहरुमाथि नै पुनः प्रयोग हुने गरिएको छ । भारततर्फ तस्करी गरिएका ति औषधीजन्य पदार्थहरु सीमा क्षेत्रमा विना लाइसेन्स भारतीय सीमा क्षेत्रमा खोलेका क्लिनिकहरुमा उपचार गराउन गएका विरामीहरुमा प्रयोग गर्ने गरिएको छ । अध्ययन नै नगरी डाक्टर सहित नाम अँकित बोर्ड झुण्ड्याएर क्लिनिक खोलेर उपचारको साथसाथै शल्यक्रिया समेत गर्ने गरेका झोले डाक्टरहरुले ति सिरिञ्ज, पाइप र पञ्जाहरुको प्रयोग गर्ने गरेका छन् ।
नेपाल भन्दा पनि सीमावर्ती भारतीय सहरमा अत्याधिक मात्रामा झोले डाक्टरहरुले क्लिनिक खोलेर उपचार गर्दै आएका छन् र त्यसमा उपचार गराउन सीमावर्ती क्षेत्रका ग्रामीण भेगका सोझा साझा नागरिकहरु उपचारका लागि पुग्ने गरेका छन् ।
नेपालको सहरहरुमा शल्यक्रिया गर्न बढि पैसा खर्चिनुपर्ने अवस्थामा सीमावर्ती क्षेत्रमा खोलिएका क्लिनिकहरुमा कम खर्चमा शल्यक्रिया हुने गरेको कारण पनि ग्रामीण भेगका आम नागरिकहरु नेपाली सहर भन्दा पनि सीमावर्ती भारतीय सहरमा उपचारका लागि पुग्ने गरेका छन् ।
नेपालभन्दा ६० देखि ७० प्रतिशतसम्म कम खर्चमा शल्यक्रिया हुने गरेको कारण ग्रामीण भेगका जनताहरु त्यस्ता क्लिनिकहरुमा पुग्ने गरेका छन् । नेपाल भारतसँग सिमा जोडिएको भारतीय सीमावर्ती सहर रक्सौलदेखि सिक्टा भिस्वासम्मको सहरमा अधिकाँश झोले डाक्टरहरुले क्लिनिक संचालन गरेका छन् र ति झोले डाक्टरहरुले नै यस्ता प्रयोग गरिएका सिरिञ्जहरुलाई पुनः प्रयोग गर्ने गरेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ ।
यसबारे पर्साका प्रशासनदेखि स्थानीय निकायका प्रतिनिधिहरुपनि अनभिज्ञ छन् कि जानी जानी छुट दिएका छन्, त्यो बुझ्न सकिएको छैन । सीमावर्ती क्षेत्रमा दिनहुँ तस्करी हुने गरेको अवस्थामा त्यही मौका छोपी तस्करहरुले नेपालबाट भारततर्फ प्लाष्टिकको फोहरको नाममा प्रयोग गरिएका औषधीजन्य प्लाष्टिकका सामानहरुलाई सरसफाई गरेर तस्करी गर्ने गरेका छन् । (news24 nepal बाट)