मंगलबार १६ आश्विन २०८०

काठमाडौं / मृगौला मानव शरीरको सर्वाधिक महत्त्वपूर्ण अङ्गमध्ये एक हो । मृगौलाले सही ढङ्गबाट काम गर्न नसक्दा गम्भीर रोग लाग्नेदेखि मानिसको मृत्युसमेत हुन सक्छ ।

अस्थायीरूपमा हुने मृगौला ड्यामेज (टेम्पोररी किड्नी ड्यामेज) र स्थायीरूपमा तथा दीर्घरूपमा मृगौला बिग्रिने अवस्था (पर्मानेन्ट किड्नी ड्यामेज) गरी मृगौलामा लाग्ने रोगलाई दुई भागमा विभाजन गरिन्छ ।

शरीरभरि फैलिने कुनै पनि सङ्क्रमण (पिसाब, रगत वा अन्य) वा सेप्सिस नै अस्थायीरूपमा हुने मृगौला ड्यामेजको मुख्य कारण हो । शरीरमा पानी तथा तरल पदार्थको मात्रा कम भएमा, झाडावान्ता भएमा, पानी नपिएको खण्डमा, रगतको मात्रा कम भएमा, दुर्घटना वा डेलिभरीको समयमा अत्यधिक रगत बगेमा तथा कुनै पनि कारणले शरीरको तरल पदार्थमा कमी आएमा किड्नीले काम गर्न छोड्छ र टेम्पोररी किड्नी ड्यामेज हुने गर्छ ।

टेम्पोररी किड्नी ड्यामेज हुँदा औषधि उपचारले निको हुन्छ भने टेम्पोररी किड्नी फेलियर भएपछि डाइलाइसिस नै गराउनुपर्ने हुन्छ । अस्थायीरूपमा हुने मृगौला ड्यामेज ९० देखि ९५ प्रतिशत अस्थायी नै रहन्छ र निको हुने सम्भावना पनि त्यत्तिकै रहन्छ । तर, ५ देखि १० प्रतिशत टेम्पोररी किड्नी ड्यामेज गम्भीर भए पर्मानेन्ट किड्नी ड्यामेज हुनेगर्छ ।

५० प्रतिशत पर्मानेन्ट किड्नी ड्यामेज मधुमेह तथा उच्च रक्तचापको कारण हुने गरेको पाइन्छ । जसकारण किड्नी ड्यामेज (टेम्पोररी र पर्मानेन्ट दुवै) का लागि अत्यधिक नुन सेवन गर्नु विष खानु बराबर हो । ठिक्क मात्राको नुन शरीरको लागि महत्त्पूर्ण र फाइदाजनक हुन्छ तर अत्यधिक मात्रामा नुनको सेवनले किड्नी ड्यामेजको सम्भावनालाई बढाउँछ ।

नेपालका अधिकांश मानिसले दैनिक चाहिनेभन्दा दुई गुणा वा सोभन्दा धेरै नुनको सेवन गरिरहेको पाइन्छ । किड्नीलाई ड्यामेज हुनबाट बचाउन सबैभन्दा पहिले खानामा नुनको मात्रालाई कम गर्नु नै महत्त्वपूर्ण हुन्छ । हामीले दैनिक खानामा प्रयोग गर्दै आएको नुनलाई ५० प्रतिशतले कटौती गर्न सकिन्छ । साथै, उच्च नुन हुने जङ्क फुड र प्रशोधित खानाको सेवनमा पनि ध्यान दिनुपर्ने हुन्छ ।

६९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया