
खोटाङ / जिल्लाको विभिन्न १८ स्थानमा नेपाल टेलिकमको फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा आएको छ ।
जिल्लाका दशवटै स्थानीय तहमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालन गर्ने लक्ष्य लिएको टेलिकमले पहिलो चरणमा जिल्ला विभिन्न १८ स्थानमा सञ्चालनमा ल्याएको हो ।
दिक्तेलस्थित टेलिकमको कार्यालय, रत्नपार्क, हलेसी, च्यास्मिटार, बाहुनीडाँडा, सिम्पानी, खोटाङ बजार, सावाकटहरे, चिसापानी, बराहपोखरी, मात्तिमबिर्ता, खिदिमा, बाँझेच्यानडाँडा, दोर्पाबुवालुङ, फेदी बाक्सिला र बुइपामा जडान गरिएको टावर सञ्चालनमा आएको नेपाल टेलिकम खोटाङका कार्यालय प्रमुख खगेन्द्र मगरले बताउनुभयो ।
“नमस्ते मोबाइलका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै टेलिकमले गत आर्थिक वर्ष जिल्लाका २८ स्थानमा टेलिफोन टावर जडानको काम थालेको थियो”, उहाँले भन्नुभयो, “जडान गरिएकामध्ये पहिलो चरणमा १८ वटा सञ्चालन गरिएको छ । निर्माणाधीन दशवटा पनि चाँडै सञ्चालन गर्ने तयारी गरेका छौँ ।”
दोस्रो चरणमा बतासे, छितापोखरी, खार्पा, दुवेकोल, ऐंसेलुखर्क, पाथेका, मेरुङ, मुडे र आमचोकमा जडान गरिएका टेलिफान टावर सञ्चालन गर्ने तयारी गरिएको टेलिकम खोटाङका कार्यालय प्रमुख मगरले बताउनुभयो ।
“टेलिफोन टावरका लागि आवश्यक सामग्री ल्याई सकिएको छ”, उहाँले भन्नुभयो, “अहिले जिल्लाका ग्रामिण सडक अ’वरुद्ध रहेकाले निर्माणस्थल पु¥याउन सकिएको छैन । दसैँ-तिहारलगत्तै बाँकी दशवटै ठाउँका टेलिफोन टावर सञ्चालनमा ल्याउँछौँ ।”
नेपाल टेलिकम खोटाङका अनुसार यस वर्ष जिल्लाका थप तीन ठाउँमा टेलिफोन टावर जडानका लागि केन्द्रबाट कार्यक्रम आएको जनाइएको छ । सल्ले, राजापानी र लिच्किराम्चेमा यस वर्ष टेलिफोन टावर जडानका लागि केन्द्रबाट थप कार्यक्रम आएको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।
नेपाल टेलिकमले जिल्लामा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि अधिकांश भेगका सेवाग्राही लाभान्वित भएका छन् । जिल्लामा जडान गरिएका टेलिफोन टावरलाई प्रभावकारी बनाउन केन्द्रीय प्रशारण लाइनको विद्युत्का साथै सोलार प्यानेल जडान गरिएको टेलिकमले जनाएको छ ।
जिल्लाका अधिकांश भेगमा फोरजी सेवासहितको टेलिफोन टावर सञ्चालनमा ल्याएपछि दुई नगर र आठ गाउँपालिका रहेको जिल्लामा नमस्ते मोबाइल प्रयोग गर्ने सेवाग्राहीको सङ्ख्यासमेत वृद्धि हुँदै गएका छन् ।
गाउँगाउँमा फोरजीसहितको नमस्ते मोबाइल सेवा सञ्चालन भएपछि जिल्लामा रिचार्ज कार्डमात्रै रु दुई करोड बढीको खपत हुने गरेको कार्यालय प्रमुख मगरले जानकारी दिनुभयो ।
टेलिकमले जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारका साथै धार्मिक तथा पर्यटकीयस्थल हलेसी, चिसापानी, ऐंसेलुखर्क र खोटाङ बजारमा ल्याण्डलाइन टेलिफोन विस्तार गरेको छ । जिल्लाका विभिन्न ठाउँमागरी करिब ६०० उपभोक्ताले टेलिकमको एडिएसएल सेवा लिएको जनाइएको छ ।
जिल्लामा इन्टरनेट सेवालाई समेत प्रभावकारी बनाउन पहल थालेको टेलिकमले पछिल्लो समय दिक्तेल बजारमा फाइबर विस्तारको कामसमेत तीव्रगतिमा अगाडि बढाएको छ ।
दसैँ-तिहारलगत्तै सेवाग्राहीलाई फाइबर सेवा वितरण गर्ने लक्ष्य लिएको टेलिकमले दिक्तेल बजारमा तार टाँग्ने काम सम्पन्न गरिसकेको छ । न्यु’ज 24 नेपा’लबाट ।