
काठमाडौं/ सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकाे पहिलाे चरणकाे वार्ता सकिएकाे छ ।
बुधबार बिहानबाट प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको हो । वार्तामा दुई पक्षबीच आ–आफ्नो कुरा राख्नेमा आजको बैठक सकिएको बताइएको छ । यसबारे विस्तृत विवरण आइसकेको छैन ।
सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । मंगलबार सरकारका प्रवक्ता पार्वत गुरुङले पत्रकार सम्मेलन गरी विप्लव पक्षसँग वार्ता गर्नका लागि वार्ता टोलीको नाम सार्वजनिक गर्नुभएको थियो ।
विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ ।
विप्लव समूहले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्नु पर्ने प्रमुख माग अघि सारेको छ ।
केपी ओली नेतृत्वको सरकारले आपराधिक समूह रहेको ठहर गर्दै २ वर्षअघि विप्लव समूहलाई प्रतिबन्ध लगाएको थियो । प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन् ।