
कुश्मा / गैरआवासीय नेपाली संघ (एनआरएनए)को आगामी अन्तर्राष्ट्रिय महाधिवेशनमा कुल आचार्यले अध्यक्ष पदमा उमेद्वारी घोषणा गरेका छन् । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्मामा पत्रकार सम्मेलनमार्फत् असोज २८ गतेदेखि ३० गतेसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि अध्यक्षको उमेद्वारी घोषणा गरेका हुन् ।
पर्वतको जलजला गाउँपालिका–७, धाइरीङमा जन्मिएका आचार्य बेलायत निवासी हुन् । आचार्यले बेलायतमा व्यवसाय गर्दै आएका छन् । उनले यसअघि एनआरएनएको विभिन्न पदमा रहेर काम गरेका छन् ।
सन् २००३ देखि गैरआवासीय नेपाली संघको अभियानमा आवद्ध आचार्य गैरआवासीय नेपाली संघ बेलायतको कार्यसमिति सदस्य, उपाध्यक्ष हुँदै अध्यक्ष बनेका थिए । त्यसपछि सन् २०१३ मा अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य, युरोप संयोजक हुँदै सन् २०१७–१९ मा संघको उपाध्यक्ष बनेका थिए ।
संघको नवौँ विश्व सम्मेलन तथा महाधिवेशनमा अध्यक्षका प्रतिस्पर्धी रहेका आचार्य कुमार पन्तसँग पराजित भएका थिए । अध्यक्षमा वर्तमान कार्यसमितिका उपाध्यक्ष डा. बद्री केसीले पति उमेद्वारी घोषणा गरिसकेका छन् ।
सुस्तामा विद्यालय, जुम्लामा प्रसुतिगृह, शंखमुलमा उद्यान, एनआरएनएको लगानी भित्र्याउन इन्भेष्टमेन्ट कम्पनी खोल्ने लगाएतको कामको अगुवाई गरेका छन् । आचार्यले ८५ देशमा रहेका ८० लाख गैरआवासीय नेपालीहरुको भावना अनुसार संस्थालाई मर्यादित र विश्वमै प्रतिष्ठित बनाउने प्रतिवद्धता जनाए ।
उनले आफ्नो आगामी योजना सुनाउँदै भने, ‘प्रवासीलाई जन्मथलो र गाउँ सँग जोड्ने, गैरआवासीय नागरिताको व्यवस्था, दोहोरो श्रम स्विकृति, एनआरएनएको लगानीलाई पारदर्र्शी र मुनाफामुलक बनाउने लगायत मुद्धालाई अघि सारेको छु ।’
उनले थपे , ‘नेपालमा प्रवासीको लगानी भित्र्याउन र भित्रिएको लगानी सुरक्षाका लागि एनअनरएनए नागरिकता आवश्यक छ, प्रवासमा रहेका नेपालीहरुलाई आफ्नो देशसँग जोड्न गैरआवासीय नागरिकताको व्यवस्था हुनुपर्दछ ।’
नेपालबाट पुँजी पलायन रोक्न र बाहिरबाट पुँजी भित्र्याउने विषयमा बहस गर्नुपर्ने उनले बताए । सरकारी निकायसँग समन्वय गरेर नेपालबाट विदेशिने कामदारको क्षमता र दक्षता बढाउन प्रयास गर्ने बताए ।
उनले कोभिडका कारण रोजगारी गुमाएर स्वेदश फर्किएकाहरुलाई सघाउन एक एनआरएनए एक रोजगारी अवधारणा ल्याएको सुनाए ।‘कोभिड–१९ का कारण ठूलो संख्यामा नेपालीहरुले रोजगारी गुमाएर स्वदेश फर्कनुभएको छ,’ उनले भने ’ स्वदेश फर्केका नेपालीहरुको लागि रोजगारी सिर्जना गर्न सघाउन मैले ’एक एनआरएनए एक रोजगारी’ भन्ने अवधारणा अघि सारेको छु ।’
प्रवासमा नेपाली भाषा, संस्कृति र सम्पदाको रक्षा गर्ने कुरामा आफूले जोड दिदै आएको उनको भनाई थियो । महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद विधान अनुसार समाधान हुनुपर्ने र परराष्ट्र मन्त्रालयले छिटो छानबिन गरेर तोकिएकै मितिमा महाधिवेशन गर्ने वातावरण बनाउन आग्रह गरे ।
उमेद्वारी घोषणा क्रममा आचार्यले जन्मथलो धाइरीङको किराखोरका पहिरो पी’डितको पुर्नवासका लागि दश लाख र कुश्माको गुप्तेश्वर बहुमुखी क्याम्पसमा स्नाकोत्तर तहको पठनपाठन सञ्चालन गर्न एक लाख ५५ हजार रुपैयाँ व्यक्तिगत सहयोग गर्ने जानकारी दिए । तस्विरः रा’तो पा’टीबाट ।