
काठमाडौं/ हिजोआज धेरैले नर्मल डेलिभरीको साटो सिजेरियन सेक्सन (शल्यक्रिया) मार्फत डेलिभरी गर्ने गर्छन् ।
केही समयको प्रसब पीडा सहन नसक्ने कारण धेरैजसो महिलाले शल्यक्रियामार्फत बच्चा जन्माइदिन आग्रह गर्ने गरेको प्रसूती तथा स्त्रीरोग विशेषज्ञहरूको भनाइ छ । यो समस्या नपढेको मानिसमा भन्दा पनि पढेलेखेका मानिसमा धेरै हुने गरेको पाइएको छ ।
धेरै बुझ्ने मानिस नै सिजेरियन सेक्सनबाट डेलिभरी गर्न आकर्षित हुने गरेका छन् । तर, शल्यक्रियामार्फत बच्चा जन्माउँदा पछिसम्म गाह्रो हुन सक्छ ।
सामान्य गर्भावस्था भएको वा कुनै समस्या नभएको खण्डमा गर्भवतीलाई शल्यक्रियामार्फत नभई नर्मल डेलिभरी गराइन्छ । नर्मल डेलिभरी आमा र बच्चा दुबैका लागि राम्रो हुन्छ । नर्मल डेलिभरीबाट जन्मेको बच्चाले पनि सङ्घर्ष गर्नुपर्ने हुन्छ । जसकारण फोक्सोमा भएको तरल पदार्थ राम्ररी निस्कन्छ र बच्चा पनि स्वस्थ हुन्छ ।
नर्मल डेलिभरी गर्दा आमा र बच्चाको स्वास्थ्य अवस्थाको आधारमा सातदेखि आठ घण्टामा अस्पतालबाट डिस्चार्ज भई सामान्य खानपान र जीवनशैलीमा फर्कन सकिन्छ । तर, शल्यक्रिया गरेर जन्मेको बच्चा कुनै सङ्घर्षविना निस्कने हुँदा फोक्सोमा भएको तरल पदार्थ राम्ररी निस्कन पाउँदैन जसकारण बच्चाको श्वासप्रश्वासमा बढी समस्या देखिने हुनसक्छ ।
शल्यक्रिया गरेपछि अस्पताल बस्नुपर्ने समय बढ्ने, खर्च धेरै लाग्ने, शल्यक्रिया गरेको ठाउँमा पछिसम्म दुखिरहने, सङ्क्रमण हुनसक्ने, काम गर्न तथा भारी उठाउँदा गाह्रो हुनेगर्छ । तर, गर्भावस्थामा आएका अन्य केही समस्या भने शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ । पहिलो वा पछिल्लो पटक बच्चा सिजेरियनमार्फत जन्माएको छ भने दोस्रो वा जन्मिन लागेको बच्चालाई पनि सिजेरियनमार्फत जन्माउनुपर्ने हुन्छ ।
त्यस्तै, बच्चाको तौल र आकारअनुसार पनि कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने हुन्छ । अत्यधिक तौल भएको शिशु भएमा (पाँच किलो वा सोभन्दा बढी), बच्चाको आकार आमाको नाइटो तलको हड्डी (पेल्भिस) को आकारसँग नमिलेको (सेपालो पेल्भिक डिसप्रोपोसन) खण्डमा शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
व्यथा लागेपछि पनि लामो समयसम्म शिशु नजन्मिए (प्रोलङ्ग लेवर)मा पनि शल्यक्रिया गरेर बच्चा जन्माउनु पर्ने हुन्छ । कतिपय अवस्थामा बच्चाले गर्भमा भएकै अवस्थामा दिसा गरेमासमेत कहिलेकाहीँ शल्यक्रिया गर्नुपर्ने हुनसक्छ ।
सालनालको अवस्था पाठेघरभन्दा तल भएमा (प्लासेन्टा पर्भिया), बच्चा सालनालभन्दा पछाडि भएमा, प्लासेन्टा परिपक्व भएर रक्तश्राव भएमा शल्यक्रिया नै गरेर बच्चा जन्माउनुपर्ने हुन्छ ।
आमाको शरीरमा हुने एम्निओटिक फ्ल्युड (बच्चा हुर्किन चाहिने तरल पदार्थ)को मात्रा कम भएमा, व्यथा लागेपछि बच्चाको मुटुको चालमा गडबडी भएमा पनि शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने हुन्छ ।