सोमबार १५ जेठ २०८०

काठमाडौं / प्रतिनिधिसभा (संसद्) भवन प्रवेश गर्ने सांसद्हरुले कोरोना भाइरसविरुद्धको खोप अनिवार्य रुपमा लगाउनुपर्ने भएको छ ।

संसद् भवन प्रवेश गर्नुअघि उनीहरुले खोप लगाउनै पर्ने नियम बनाइएको हो । खोप नलगाउनेले संसदमा प्रवेश नपाउने भएका छन् । संसद् पुर्नस्थापनासँगै फागुन २३ गते बस्ने पहिलो बैठकमा प्रवेश गर्नुअघि सांसद्हरुले अनिवार्यरुपमा कोरोनाविरुद्धको खोप लगाउनुपर्ने भएको हो ।

सांसदहरुलाई फागुन १९ (आज), २० र २१ गते सिभिल अस्पतालमा खोप लगाउने कार्यक्रम तय गरिएको छ । प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने छन् ।

प्रतिनिधिसभामा दुई सय ७५ सदस्य रहे पनि हाल दुई सय ६९ जनामात्र सांसद् रहेका छन् । सभामुख सापकोटाको मतदानमा सहभागी नहुने र नेकपाका सांसद सानु सिवाको मृत्यु भएको छ । त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दुई जना र जनता समाजवादी पार्टीका दुई जना सांसद् निलम्बनमा परेका छन् ।

माघ १४ गतेबाट नेपालमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको एक महिनापछि सांसदहरुले खोप लगाउने भएका छन् । नेपालमा हालसम्म चार लाख २९ हजार जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाइरहे पनि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले भने अझै कोरोनाविरुद्धको खोप लगाएका छैनन्।

यसअघि कोरोनाको कारण संसद् बैठकमा प्रवेश गर्नका लागि संसद् सचिवालयले सांसदहरुले अनिवार्यरुपमा पीसीआर परीक्षण गरेर मात्र प्रवेश गराएको थियो । यसपटक भने खोप लगाएर मात्र प्रवेश गर्न दिने प्रावधान बनाएको छ ।

संसद् सचिवालयका अनुसार सांसद, संसद् सचिवालयका कर्मचारी र मर्यादापालकका लागि खोप अनिवार्यरुपमा लगाउनुपर्ने बताएको छ ।

१७४६ पटक हेरिएको

तपाईको प्रतिक्रिया