
बारागढी (बारा)/ बारा जिल्लाको बारागढी गाउँपालिकाको शिक्षा शाखाकी अधिकृत जलमति चौधरीले मनोमानी ढंगले आर्थिक नियम मिचेर विभिन्न कामहरु गरेको तथ्य फेला परेको छ ।
अधिकृत चौधरीले आर्थिक ऐन नियम मिच्दै आफ्ना जेठाजु पर्ने विश्वनाथ चौधरीलाई गाउँपालिका–४ स्थित श्री जनता माध्यमिक विद्यालय बुद्धगाईमा प्रक्रिया विपरीत प्रधानाध्यापक नियुक्ति गरेको तथा प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलाई जानकारी नै नगराई आफ्नो नामबाट बैंैक खाता समेत खोल्न लगाएकी पाइएको हो ।
तत्कालीन कोल्हभी स्कुलमा अध्यापन गराउँदै आएका उनका जेठाजुलाई प्रक्रिया विपरीत गाउँपालिकाको बुद्धगाईस्थित श्री जनता माध्यमिक विद्यालयमा सरुवा गरी प्रधानाध्यापक नियुक्ति गरी एकलौटी हस्ताक्षर गरेर वाणिज्य बैंक शाखा कार्यालय कलैया र हिमालयन बैंक शाखा कार्यालय खोपवामा खाता खोल्न लगाएको तथ्य फेला फेला परेको हो ।
शिक्षा ऐन अनुसार प्रधानाध्यापक नियुक्ति भएपछि उनको नाममा विद्यालयको खाता खोल्दा प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको हस्ताक्षरसहितको कार्यादेश हुनुपर्ने अथवा शिक्षा समितिको निर्णयको माइन्यूट हुनुपर्नेमा कुनै प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत चौधरीले आफ्नो जेठाजुको नामबाट खाता खोल्न लगाएकी हुन् ।
यसबारे प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले बुद्धगाई स्कुलको बैंक खाता खोल्नका लागि आफूले कुनै किसिमको अनुमति नदिएको जानकारी दिए । उनका अनुसार विद्यालयको खाता खुलेको छ-छैन भन्नेबारे समेत आफूलाई जानकारी नभएको उनले बताए ।
यता लेखा अधिकृत अजय चौधरीले पनि बुद्धगाई स्कुलमा नवनियुक्त प्रअको नाममा बैंक खाता खोल्नका लागि आफूले अनुमति नदिएको बताए । उनले शिक्षा ऐन अनुसार शिक्षा समितिको निर्णयले पनि बैंक खाता खोल्न सकिने भएकोले आफूहरुको अनुमति नलिएको हुन सक्ने भन्दै चौधरीले यसबारे विस्तृत शिक्षा अधिकृतलाई जानकारी हुने बताए ।
अर्कोतर्फ शिक्षा समितिका सदस्य समेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामकृपाल चौधरीले बुद्धगाई स्कुलको बैंक खाता खोल्नका लागि शिक्षा समितिबाट कुनै किसिमको निर्णय नभएको जानकारी दिए ।
उनका अनुसार विश्वनाथ चौधरी प्रधानाध्यापक नियुक्ति भएपछि खाता खोल्नका लागि प्रमुख प्रशासकीय अधिकृतले अनुमति दिएको हुनसक्ने जानकारी गराए । आफ्ना जेठाजुलाई उक्त स्कुलका प्रधानाध्यापक नियुक्त गर्नका लागि तत्कालीन प्रधानाध्यापक विरेन्द्र चौधरीलाई गाउँपालिका बोलाएर शिक्षा समितिको बैठकमा स्कुलबाट सरुवा गराउन जबरजस्ती दबाब दिएको तत्कालीन प्रअ विरेन्द्र चौधरीको आरोप छ ।
यति मात्रै नभई शिक्षा अधिकृत चौधरीको यहाँसम्म मनोमानी बढेको छ कि उनले वडा नं. ४ सुखी पथरास्थित उमेश निलम आधारभुत विद्यालयमा पनि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको जानकारी विना नै प्रधानाध्यापकको नाममा खाता खोल्न लगाएकी छिन् ।
त्यस्तै, लेखा परीक्षकलाई आफैले हस्ताक्षर गरेर नियुक्ति गरेको पनि बताइएको छ । अर्कोतर्फ लेखा विषयको शिक्षकको दरबन्दी खाली भएको बुद्धगाई स्कुलमा जियालाल चौधरीले सरुवा भई आउनका लागि निवेदन दिएपछि उनको निवेदनलाई शिक्षा अधिकृत जलमति चौधरीले रोकेकी छिन् ।
उक्त स्कुलमा जियालाल आए आफ्ना जेठाजु प्रअको पदबाट हट्नुपर्ने अवस्था देखेर प्रमुख प्रशासकीय अधिकृतले कार्यादेश जारी गरि पठाएको जियालालको निवेदनलाई उनले आफ्नै कार्यकक्षमा रोकेकी छिन् ।
यति मात्रै होइन, उनको काममा उनका श्रीमान् निजर चौधरीले पनि हस्तक्षेप गर्ने गरेको बताइएको छ । श्रीमती अधिकृत स्तरको भएको कारण प्रमुख प्रशासकीय अधिकृत अथवा लेखा अधिकृत कसैको अनुमति नचाहिने भनेर श्रीमतीसँग आफ्नो अनुकुल काम गर्न लगाई रहेको स्थानीयहरुको आरोप छ ।
अधिकृत श्रीमतीलाई कार्यालय छोड्न र ल्याउन दिनुहँ गाउँपालिका पुग्ने गरेका शिक्षा अधिकृतका श्रीमान् निरज चौधरीले अनावश्यक रुपमा गाउँपालिकाको काम कारवाहीमा हस्तक्षेप गर्ने गरेको र गाउँपालिकाको आन्तरिक छलफलमा सहभागी हुने र सरसल्लाह दिने गरेको गाउँपालिकाकै कर्मचारीहरुको भनाइ छ ।
यसबारे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरीले उनका श्रीमानले कार्यपालिकाको काममा हस्तक्षेप गर्ने गरेको भन्दै केही दिन यतादेखि त्यो कार्य रोकिएको बताए ।
पहिला प्रत्येक काममा शिक्षा अधिकृतको श्रीमानको हस्तक्षेप थियो, तर केही दिनअघि पालिकाका प्रमुख लगायत कर्मचारीहरुले पालिकाको कार्यमा अनावश्यक हस्तक्षेप नगर्न भनेपछि अहिले त्यो कार्यमा केही कमी आएको बताए । (news24 nepal बाट)