
विराटनगर / मोरङको कटहरी गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी ज्येष्ठ नागरिकका लागि छुट्याइएको बजेटबाट घुमफिरमा मस्त रहेको पाइएको छ ।
बजेटको दुरुपयोग गर्दै गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टोली आइतबारबाट भ्रमणमा निस्किएको हो । गाउँपालिकाले सामाजिक विकास कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक अवलोकन भ्रमण शीर्षकमा ६ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
सोही शीर्षकको बजेट दुरुपयोग गर्दै कर्मचारी र जनप्रतिनिधि प्रदेश २ र बागमती प्रदेशका स्थानीय तहको पाँचदिने घुमफिरमा निस्किएका हुन्। उक्त टोलीमा गाउँपालिका अध्यक्ष रामकुमार कामत, प्रमुख प्रशासकीय अधिकृत रामसुन्दर थापा, वडाध्यक्षहरू कपुरलाल माझी, जग्गुलाल कामतसहित लेखा शाखाका कर्मचारी, प्राविधिक सहभागी छन्।
गाउँपालिका उपाध्यक्ष मन्जिताकुमारी सरदारले यो भ्रमणको विरोध आफूले गरेको बताइन्। ‘गर्नु नहुने काम गरिरहेका छन्’, उपाध्यक्ष सरदारले भनिन्, ‘पहिले मैले सचेत गराउँदा मानेनन्।’
समुदाय लक्षित कार्यक्रममा विनियोजन गरिएको बजेटलाई अन्यथा खर्च गर्नु दुरुपयोग भएको स्थानीय ज्येष्ठ नागरिकको गुनासो छ। ‘जुन समुदायलाई लक्ष्य गरेर बजेट बनेको हो त्यसमा खर्च नगरी अन्यत्र खर्च गर्ने कार्यको निन्दनीय छ’, स्थानीय ८५ वर्षीय यदुनाथ घिमिरेले भने, ‘यसले हामीलाई अन्याय भयो।’
जनप्रतिनिधि र कर्मचारीले गरेको बजेट दुरुपयोगको स्थानीय नेताले पनि आपत्ति जनाएका छन्। नेकपा प्रदेश कमिटी सदस्य मृत्युञ्जयकुमार झाले ज्येष्ठ नागरिकको नाममा छुट्टिएको बजेट दुरुपयोग भएको घटनामा विरोध जनाएका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ।