
काठमाडौं/ दाङ क्षेत्र नम्बर ३ का सांसद हीराबहादुर केसी शुक्रबार बिहान ९ बजे नेपालगञ्ज विमानस्थलबाट काठमाडौँ ओर्लिए । काठमाडौँ विमानस्थलमा उत्रने बित्तिकै उनलाई फोन आयो र सोधियो, ‘कता हुनुहुन्छ कमरेड ?’ केसीको जवाफ थियो, ‘दाङमा छु ।’
फोनकर्ताले ‘तपाईं एयरपोर्टमै हुनुहुन्छ, हामी लिन आएका छौँ,’ भने । चिनजानकै ती फोनकर्तासँग केसी एयरपोर्ट आसपासकै एउटा होटलमा पुगे । त्यहाँ नेकपा ओली पक्षका सांसद महेश बस्नेत थिए । बस्नेतले केसीलाई ओली पक्षमा लाग्न आग्रह गरे । मन्त्री बन्नका लागि पहल गरिदिने आश्वासन पनि दिए । तर केसीले स्वीकारेनन् ।
झण्डै साढे २ घण्टा छलफलपछि बस्नेत र केसी छुट्टिए । केसीले भनेअनुसार अहिले पनि फोनमार्फत् ओली पक्षमा लाग्न उनलाई आग्रह आइरहन्छ ।
तनहुँका सांसद कृष्णकुमार श्रेष्ठलाई केही दिनअघि नेकपा अध्यक्ष पुष्पकमल दाहालले फोन गरे । आफ्नो समूहमा लागे नयाँ सरकार बनेपछि मन्त्री बनाउने र उनलाई भेट्न घरसम्म आउने प्रस्ताव दाहालको थियो । श्रेष्ठले स्वीकारेनन् ।
यी दुई घटना उदाहरण मात्रै हुन् । अहिले नेकपामा सबैभन्दा धेरै चलेको सांसदहरुको हिसाबकिताब हो । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
नेकपा विवादले संसद् सचिवालयलाई सकस
नेकपा विवादले संसद्का कामकारवाही सरल तरिकाले अघि बढ्न नसक्ने भएपछि संसद् सचिवालयलाई दल व्यवस्थापनमा कठिनाइ हुने भएको छ । संसद् विघटनअघि र पुनः स्थापनापछि संसद् बैठकमा उही राजनीतिक दल भए पनि नेकपाभित्रको विचलनले अप्ठेरो अवस्था आउने संकेत देखेपछि यतिबेला संसद् सचिवालय निकै सकसमा परेको छ ।
अबका विभिन्न बैठकमा आमन्त्रण गर्ने, सुविधा दिने र अन्य छलफलहरूमा हुने व्यवस्थापनमा संसद् सचिवालयलाई आफ्नो तर्फबाट निर्णय लिन कठिनाइ हुने संसद् सचिवालयका एक अधिकारीले बताए । ‘निर्णय लिँदा तटस्थ भूमिका कसरी निभाउन सकिन्छ भनेर सचिवालय सर्तक छ, राजनीतिक विषयमा दलहरु नमिलेसम्म सचिवालयले एक्लै निर्णय लिग सक्दैन,’ उनले भने ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्खरै नेकपा संसदीय दलको प्रमुख सचेतकबाट देव गुरुङलाई हटाए र विशाल भट्टराईलाई नियुक्त गरेका छन् । नेकपा संसदीय दलबाट प्रमुख सचेत भट्टराई नियुक्त भएको जानकारी आइतबार संसद् सचिवालयमा लिखित रुपमा गराइएको छ ।
तर, गुरुङले भने आफू प्रमुख सचेतकबाट नहटेको बताएका छन् । ‘नेकपा पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाइएका व्यक्तिबाट मलाई संसदीय दलको प्रमुख सचेतकबाट हटाउने कुनै अधिकार छैन,’ उनले भने, ‘नेकपाको प्रमुख सचेतक म नै हुँ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।