
काठमाडौं / हिमालय एयरलाइन्सले अन्तिम समयमा दुबई उडान नहुने सूचना टाँसेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका यात्रुहरु अलपत्र परेका छन् ।
दुबई उड्नका लागि यात्रुहरु विमानस्थल पुगिसकेको अवस्थामा एयरलाइन्सले उडान नहुने सूचना टाँसेको थियो । उक्त सूचनामा दुबईले रोकेका कारण उडान नहुने व्यहोरा उल्लेख छ ।
टिकट काटेर पनि अन्तिम समयमा उडान रोकिएको भन्दै यात्रुहरुले विमानस्थलमै विरोध गरेका थिए। एयरपोर्टभित्र परीक्षण गरेर मात्रै आउनुपर्ने भन्दै दुबईले रोक लगाएपछि एयरलायन्सले अन्तिम समयमा उडान स्थगित गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
पीसीआर र एन्टिजेन परिक्षण नगरेको भन्दै दुबईले रोकिदिएको प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। विमानस्थलमा चार घन्टा अघि मात्रै परिक्षण गरेर दुबई आउनुपर्ने भनिदिए पछि नेपालबाट त्यसतर्फ जान ठिक्क परेका यात्रु जान नपाएको उनको भनाइ छ।
दुबईले यस्तो सूचना अन्तिम समयमा दिएकाले उडान स्थगित गर्नुपर्ने हिमालय एयरलायन्सले जनाएको छ। त्रिभुवन विमानस्थलभित्रै परिक्षण नहुने भएकाले यस विषयमा एयरलाइन्सले आज प्राधिकरणसँग छलफल गर्ने तयारी गरेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
यसअघि सं’क्रमणका कारण दुबईले नेपालबाट हुने उडान रोकेको थियो। तर गत हप्ता युएई स्थित नेपाली दूतावासले अस्तिदेखि नेपालका लागि उडान खुल्ला भएको सूचना प्रकाशित गरेको थियो।
सोही अनुसार गएराति साढे ११ बजे हुने उडानका लागि एयरलाइन्सले टिकट बिक्री गरेको थियो। रातिको उडानका लागि ‘चेक इन’ भइरहेको स्टाटस विमानस्थलमा राखिएको डिस्प्ले बोर्डमा देखिन्थ्यो।
तर अन्तिम समयमा युएईले नेपालबाट हुने उडानमा रोक लगाएकाले विमान नउड्ने जानकारी सहितको सूचना एयरलाइन्सले यात्रु प्रवेश गर्ने मुख्य ढोकामा टाँसेको थियो। – ईताजा खब’रबाट ।